post-slider post-slider

मौन अवधिमा कांग्रेस र एमालेको छुट्टाछुट्टै भेला

Image
A A

काठमाडौं- राष्ट्रियसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख दुई दलले छुट्टाछुट्टै भेला गरेका छन्।

राष्ट्रियसभा निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन आयोगले ‘मौन अवधि’ लागु गरेको बेला दुई प्रमुख गठबन्धनले कोसी प्रदेसको विराटनगरमा छुट्टाछुट्टै भेला गरेका हुन्।

नेकपा एमाले र राप्रपाले होटलमा र सत्ता गठबन्धनले डा.शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासमा भेला गरेका हुन्।

कोइराला निवासमा चियापानका लागि भन्दै सत्ता गठबन्धनमा आवद्ध मतदाताहरूलाई बोलाइएको थियो।

कोइराला निवास विराटनगरमा चियापान कार्यक्रम राखिएको भन्दै नेता कोइरालाको सचिवालयले मंगलबार नै निमन्त्रणा पठाएको थियो।

कोइराला निवासको चियापान कार्यक्रममा राष्ट्रियसभा सदस्यका उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलासहित महामन्त्री गगन थापा, प्रतिनिधिसभा सदस्य रामहरि खतिवडा, प्रचार विभागक प्रमुख मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल निर्वाचनका मतदाता प्रदेससभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरू उपस्थित थिए।

यो भेलामा गठबन्धन दलका केही नेता पनि पुगेका थिए।

कोइरालाले निर्वाचनमा कांग्रेस एक भएको सन्देश दिन भेला राखेको बताइएको छ।

यता, एमाले र राप्रपाको गठबन्धनले होटल ह्यारिसनमा भेला राखेका छन्। यो गठबन्धनले एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा भेला राखेका हो।

निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी मतदान नहुन्जेलसम्मका लागि प्रचारप्रसारमा निषेध गरेको छ।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने आयोगले जनाएको छ।

यस्तै कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्यका लागि यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेसमा मतदान हुँदैछ।

६ वर्षे कार्यकाल सकेर रिक्त हुन लागेका १९ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो। २० जनाको कार्यकाल सकिने भए पनि एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन्।

 

Tags: