post-slider post-slider

श्रीमती चढेको गाडी प्रहरीले रोकेपछि...

Image
A A

काठमाडौं- शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटस लेखे– आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि सरकारी गाडी रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु।

मेयर बालेन्द्रको स्टाटस यतिकैमा अन्त्य भएको थिएन। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई ‘चोर’ को संज्ञासमेत दिए।

उनले धम्की दिँदै लेखेका छन्,‘याद राख चोर सरकार।’

बालेन्द्रले राखेको स्टाटस केहीबेरमै ‘भाइरल’ भयो। ९ मिनेटमा उनको त्यो स्टाटसलाई ४८ हजारले लाइक गरिसकेका थिए भने ११ हजार कमेन्ट र साढे पाँच हजार सेयर भएको थियो।

सरकारप्रति आक्रोशितहरूले बालेन्द्रको पछिल्लो अभिव्यक्तिलाई समर्थन गरेको हुनुपर्छ। यद्यपि उनको यो स्टाटसको आलोचनासमेत भइरहेको छ– मर्यादित पदमा आसीन जिम्मेवार व्यक्तिको अमर्यादित अभिव्यक्ति भनेर।

राजनीतिक विश्लेषक मुमाराम खनाल बालेन्द्रको यो अभिव्यक्तिलाई अराजक र अराजनीतिक भनेका छन्। यद्यपि उनले टिप्पणी गरेको ‘चोर सरकार’ प्रति आफ्नो समर्थन रहेको खनालले बताएका छन्।

‘मेयर बालेन्द्र साहको अभिव्यक्ति अराजक, अराजनीतिक र असभ्य त हुँदै हो। तर, एउटा मेयरले ‘संघीय चोर सरकारलाई आगो लगाइदिने’ अभिव्यक्ति कसरी सम्भव भयो? यसको जवाफ चाहिँ दिनुपर्छ है ‘चोर सरकार!’‘चोर सरकार’ भन्ने शब्दमा बालेन्द्र साहसँग मेरो पनि मत मिल्छ,’ खनालले सामाजिक सञ्जालमा लेखेका छन्।

कतिपयले मेयर बालेन्द्रको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका विषयमा सरकारले कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने तर्कसमेत सामाजिक सञ्जालमा गरेका छन्।

मेयर बालेन्द्रले यो स्टाटस शनिबार राति ९ बजेर २१ मिनेटमा राखेका थिए। उनकी श्रीमती चढेको महानगरको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेपछि बालेन्द्रको यो धम्कीपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोखिएको थियो।

बिदाको दिनमा ट्राफिक प्रहरीले सरकारी गाडी सञ्चालनमा कडाइ गरेको छ। बिदाको दिन सडकमा गुड्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले केरकार गर्ने गरेको छ।

ठीक त्यही भएको थियो बालेन्द्रकी श्रीमती चढेको महानगरको सरकारी गाडीसँग।

शनिबार राति ९ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेको थियो।

प्रहरी नायब निरीक्षक सुशील न्यौपानेले बिदाको दिन सेता नम्बर प्लेटको गाडी चेक गरेर बिदाको दिन चलाउने अनुमति पत्र मागेका थिए।

‘प्रहरीले बिदाको दिन गाडी चलाउने अनुमति माग गरेको हो। अनुमति थिएन,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेल भन्छन्,‘बढीमा २ देखि ३ मिनेटमात्रै रोकिएको हो। केही भएको छैन।’

गाडीमा को छन्, कहाँको गाडी भनेर प्रहरीले सोधखोजमात्रै गरेको थियो। गाडी तीब्र गतिमा पनि थियो। सरकारी गाडीलाई रोकेर प्रहरीले केरकार गर्दा चालकले उल्टै प्रहरीलाई थर्काएका थिए।

‘ड्राइभरले हामीलाई उल्टै काठमाडौं महानगरको गाडी किन रोकेको भनेर थर्कायो,’ चेकिङमा खटिएका एक ट्राफिक प्रहरी भन्छन्,‘गाडी पछाडि महिला थिए। सोधखोज गर्दा ड्राइभरले म्याडम हो भने। हामीले चिटसमेत नकाटी छाड्यौं।’

मेयर बालेन्द्रले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटस राखेकै दिन उनलाई पुत्रीलाभ भएको खबर पनि आएको छ।

बालेन्द्रकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन्। दुवै जनाको २०७४ फागुनमा विवाह भएको थियो।

कतिपयले अस्पताल गइरेकी पत्नी चढेको गाडी प्रहरीले रोकेपछि मेयर बालेन्द्रको आक्रोशपूर्ण अभिव्यक्ति आएको तर्क पनि गरेका छन्।

 

 

Tags: