post-slider post-slider

प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो दुई डाँका

Image
A A

काठमाडौं- महोत्तरीमा प्रहरीले गोली प्रहार गरेर डाकाहरू पक्राउ गरेको छ। नियन्त्रणमा रहेका डाकाहरू भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीको गोली लागेर दुई जना डाका घाइते भएका छन्।

दोहोरो भिडन्तमा दुई डकैतसहित दुई जना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता र्डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक रामेश्वरप्रसाद यादवको कमान्डमा खटिएको टोलीले रौतहट गरुडा नगरपालिका–४ पानी ट्यांकी नजिकबाट सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षी शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवानलाई पक्राउ गरेको थियो।

पक्राउ परेका उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान र चार राउन्ड गोलीलगायतका सामान बरामद भएको थियो।

महोत्तरीतर्फ आउँदै गर्दा सर्लाहीको संग्रामपुरमा आएर प्रहरीको गाडी अचानक बिग्रिएको डिएसपी गिरीले बताए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को सबारी मगाइ महोत्तरीको सिमाना सोनमा गाउँपालिका–५ मा गएराति १० बजेको समयमा महोत्तरीबाट आएको अर्को गाडीमा प्रहरीले पक्राउ परेका दुवै जनालाई राख्न खोजेको थियो।

त्यही क्रममा पासवानद्वय गाडीबाट हामफालेर भाग्न खोजेपछि दोहोरो भिडन्त भएको थियो।

प्रहरीले प्रहार गरेको गोली अजय र शक्तिको बाँयाँ खुट्टाको तिघ्रामा लागेको बताइएको छ।

घाइते दुवै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ। दोहोरो भिडन्तमा परी सहायक प्रहरी हवल्दार संजय जसयवाल र प्रहरी जवान श्याम गिरी घाइते भएका छन्।

पक्राउ परेका डकैतद्वयकै समूहले गत कात्तिक २० गते राति जलेश्वर नगरपालिका–८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरको मुलढोका लगायत घरका ढोकाहरूको ताल्चा फुटाएर डकैती गरेका थिए।

उनीहरूले चौधरीको घरबाट ४० तोला सुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, मोबाइल, नगद १ लाख ७५ लुटपाट गरेको प्रहरीले जनाएको छ।

 

Tags: