post-slider post-slider

भारतविरूद्ध बंगलादेश : ‘उलटफेर’ को सम्भावना कति?

Image
A A

काठमाडौं- भारतीय क्रिकेट टिम अहमदाबादभन्दा करिब ६५० किलोमिटर टाढा महाराष्ट्रको पुणे सहर पुगिसकेको छ।

भारतीय टिम अस्ट्रेलिया, अफगानिस्तान र पाकिस्तानलाई पराजित गरेर अब बंगलादेशको सामना गर्न तयार छ।

उता बंगलादेशले अहिलेसम्म तीनमध्ये मात्र एक म्याच जितेको छ र यो टिम आफ्नो खेलाडीको फर्म र फिटनेसका लागि संघर्ष गरिरहेको छ।

कुनै टिमले निरन्तर जित हासिल गरिरहेको बेला उसको ससाना त्रुटिहरू जितको खुसीमा ओझेल पर्छ।

भारतीय टिम पनि यतिबेला जितको रथमा सबार छ। तर, एउटा त्यस्तो कडी छ जसले आगामी म्याचहरूमा कप्तान रोहित शर्मा र कोच राहुल द्रविडको टाउको दुखाइ बढाउनसक्छ।

त्यो हो मिडियम पेस अलराउन्डर शार्दुल ठाकुर।

जारी विश्वकपमा तीन म्याच खेलका शार्दुलले ब्याटिङका लागि मौका नै पाएनन् भने कप्तान रोहितले उनीसँग बलिङ पनि कमै गराएका छन्।

शार्दुलले अफगानिस्तानविरूद्ध ६ र पाकिस्तानविरूद्ध केवल दुई ओभर बलिङ गरे।

कैयौं क्रिकेटका जानकारहरू शार्दुलको स्थानमा मोहम्मद शमी वा सूर्यकुमार यादव उपयुक्त विकल्प हुनसक्ने बताएका छन्।

पत्रकारहरूसँग कुरा गर्दै भारतीय टिमका बलिङ कोच म्हाम्ब्रेले टिमको संरचनाबारे जितिरहेकै टिमसँग अगाडि बढ्नुपर्ने पक्षमा आफू रहेको बताए।

सूर्यकुमार एक च्याम्पियन खेलाडी रहेको बताउँदै उनले यतिबेला उनलाई टिममा सामेल गराउने विषयमा आफूसँग जवाफ नरहेको बताए।

जारी विश्वकप राउन्ड रौबिन फर्मेटमा खेलाइँदैछ। अर्थात प्रतियोगितामा भाग लिएका सबै टिमले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। हरेक टिमले कम्तिमा ९ म्याच खेल्नुपर्ने हुन्छ।

सेमिफाइनलमा पुग्नसक्ने व्यापक सम्भावना देखेको भारतीय टिम महत्वपूर्ण खेलाडीहरू फिट रहोस् भन्ने चाहिरहेको छ।

त्यसैले बंगलादेशविरूद्धको खेलमा शुभमन गिललाई आराम दिएर ईशान किसनले मौका पाउनसक्ने चर्चा पनि व्यापक रूपमा भइरहेको छ।

मैचअघि शुभमन र ईशान दुवैले नेटमा घन्टौं अभ्यास गरेका छन्।

अर्को परिवर्तन बलिङतर्फ हुनसक्ने सम्भावना रहेको छ। जसप्रित बुमराहलाई आराम दिएर मोहम्मद शमीले मौका पाउनसक्ने बताइएको छ।

शमीले अहिलेसम्म यो विश्वकपमा एउटा म्याच पनि खेलेका छैनन्। बुमराह चोटका कारण एक वर्षसम्म बाहिर भएर केहीअघि मात्र टिममा फर्किएका छन्।

टिम व्यवस्थापन आफ्ना यी खेलाडीहरूको शारीरिक व्यवस्थापनमा निश्चित रूपले ध्यान दिन चाहनेछन्।

बंगलादेशले गर्ला उलटफेर

हुनत जारी विश्वकपमा दुई उलटफेर भइसकेका छन्।

अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड र नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेर सबैलाई आश्चर्यचिकत बनाइदिएका छन्।

बंगलादेश पनि ठूलो प्रतियोगितामा उलेटफेरका लागि चिरपरिचत टिममध्येको एक हो।

२००७ को विश्वकपमा भारत बंगलादेशको उलटफेरको शिकार भइसकेको छ।

पछिल्ला रेकर्डहरूलाई हेर्ने हो भने गएको एक वर्षमा भारत र बंगलादेशबीच कुल चार एकदिवसीय खेल भएको छ।

जसमध्ये बंगलादेशले तीन र भारतले मात्र एक खेल जितेको छ।

त्यतिमात्र होइन केही दिनअघि दुवै देशबीच एसियाकपमा भएको एकदिवसीय खेल पनि बंगलादेशले नै जितेको थियो।

यस्तो परिस्थितिमा भारतीय टिम विश्वकपमा सम्भावित उलटफेरबाट जोगिने प्रयासमा हुनेछ।

बंगलादेशका लागि मुस्तफिजुर रहीम, लिटन दास, शाकिब अल हसन, मेहदी हसन मिराज महत्वपूर्ण भूमिकामा देखिनेछन्।

पुणेको पिच र केही आँकडा

पुणेको पिच पूर्णरूपले ब्याटिङका लागि सहयोगी देखिएको छ।

यसका साथै यो मैदानको बाउन्ड्री पनि तुलनात्मक रूपमा छोटो रहेको छ।

सबैभन्दा छाटो बाउन्ड्री ५३ मिटर र सबैभन्दा ठूलो बाउन्ड्री ७४ मिटरको रहेको छ।

यो मैदानमा अहिलेसम्म कुल सात एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ। जसमध्ये चार म्याच पहिले ब्याटिङ गरेको टिमले जितेको छ।

बंगलादेश टिम २५ वर्षपछि भारतमा कुनै एकदिवसीय म्याच खेलिरहेको  एउटा महत्वपूर्ण आँकडा देखिएको छ।

अन्तिमपटक बंगलादेश भारतविरूद्ध भारतमा सन् १९९८ मा मुम्बईस्थित वानखेडे मैदानमा म्याच खेलेको थियो।

पुणेमा भारतीय टिम आफ्नो जितको ‘चौका’ लगाउने प्रयासमा हुनेछ भने बंगलादेश टिम आफ्नो जुझारू स्वभावका साथ मैदानमा देखिनेछ।

 

Tags: