post-slider post-slider

अजय जडेजा : अफगानिस्तान टिमको ‘कायाकल्प’ गर्ने मेन्टर

Image
A A

काठमाडौं- अफगानिस्तानले सोमबार विश्वकपको प्रतिस्पर्धामा पाकिस्तानलाई ८ विकेटलाई पराजित गर्‍यो। र, सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप भाइरहल हुन थाल्यो।

भिडियोमा एउटा प्रश्नको जवाफमा भारतका पूर्वक्रिकेटर अजय जडेजाले भनेका छन्,‘त्यसैले त तपाईँ पनि भनिरहनुभएको छ कि अफगानिस्तान छोटो टिम हो, जुनदिन हराउँछ, त्यो दिन यो ठूलो टिम बन्नेछ।’

जडेजासँग अफगानिस्तान टिम जितको नजिकसम्म पुगेर पनि ठूलो टिमलाई किन हराउन सक्दैन भनेर प्रश्न सोधिएको थियो।

यो विश्वकपमा अफगानिस्तानले दुई ठूला टिमलाई पराजित गरिसकेको छ। १५ अक्टुबरमा यसले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई ६९ रनले पराजित गर्‍यो।

अफगानिस्तानको ‘सनसनीपूर्ण जादु’ को हल्ला शान्त हुन बाँकी छँदै यसले पाकिस्तान टिमलाई अर्को झड्का दियो।

१९९२ मा विश्वकप जितिसकेको पाकिस्तान टिम हालम्म एकदिवसीय रैंकिङमा पहिलो स्थानमा थियो।

पाकिस्तान टिममा सुरूदेखि ११ औं नम्बरसम्म स्टार खेलाडीहरू छन्।

७ वर्षपछि भारतीय भूमिमा पाइला टेकेसँगै यो टिमको प्रदर्शनमात्रै नभएर स्वागत र लन्च–डिनरमा पस्किने पकवानहरूको चर्चा भइरहेको छ।

अर्कोतर्फ, १४ अक्टुबरमा विश्वकपमा भाग लिनुअघि अफगानिस्तानसामु विरोधीको जितलाई पक्का ठानिएको थियो।

इंग्ल्यान्डविरूद्ध अफगानिस्तानको आश्चर्यजनक ‘उलटफेर’ बताउने सबै विज्ञहरू पाकिस्तानसँग जित हासिल गरेसँगै कप्तान हशमतुल्लाह शाहिदीको टिम ‘स्किल’ लाई लिएर मुग्ध भए।

पाकिस्तानविरूद्ध अफगानिस्तानको जितलाई ‘उलटफेर’ सम्म मात्रै सीमित गरिएको छैन। विरोधी टिम पाकिस्तानलाई कुनै पनि बेला म्याचमा बराबरीमा आउन नदिएको मजबुत टिम भनिँदैछ।

बलिङ, फिल्डिङ र ब्याटिङ खेलको तीनवटै मोर्चामा अफगानिस्तान टिम बाबर आजम नेतृत्वको पाकिस्तान टिमभन्दा अगाडि देखियो।

यो जितको प्रतिध्वनी चेन्नईबाट निस्किएर दिल्ली, इस्लामाबाद र काबुलसम्म सुनियो। चेपोक स्टेडियममा डान्स हुँदा काबुलका मानिस पनि झुमे।

र, यसबीचमा सबैभन्दा बढी नाम लिइयो तिनै अजय जडेजाको जसले धेरैअघि भनिसकेका थिए–अफगानिस्तान ठूलो टिम हो।

जडेजाको क्रिकेट करियर एउटा विवादमा फँसेर असमय अन्त्य भएको थियो। तर, अब अफगानिस्तान टिमलाई नयाँ ज्यान दिने श्रेय उनैलाई दिइँदैछ।

सचिन तेन्दुलकरले गरे प्रशंसा

अजय जडेजाको नाम भारतीय क्रिकेटमा नयाँ होइन।

१९९२ मा भारतका लागि पहिलो एकदिवसीय खेलेका जडेजा सन् २००० सम्म भारतीय टिमको नियमित अनुहार थिए।

यतिबेला उनी अफगानिस्तान टिमका मेन्टर छन्।

पछिल्लो तीन म्याचमध्ये अफगानिस्तानको दुईवटा जितपछि भारतीय क्रिकेटका सुपरस्टार सचिन तेन्दुलकरले सामाजिक सञ्जाल ट्विटरमा जडेजाको प्रशंसा गरेका छन्।

तेन्दुलकरले लेखेका छन्,‘यो विश्वकपमा अफगानिस्तानको प्रदर्शन शानदार रहेको छ। ब्याटिङमा अनुशासन, विकेटका बीच रन लिन देखाएको तिब्रताबाट उनीहरूको कठिन परिश्रमलाई प्रष्ट पार्छ। सायद यो सबैथोक मिस्टर अजय जडेजाको प्रभावका कारण भएको हो।’

तेन्दुलकरको यो टिप्पणीमा दुनियाँले वजन देखिरहेको छ।

तेन्दुलकर त्यो खेलाडी हुन् जसले अफगानिस्तानका मेन्टर जडेजासँग वर्षौं ड्रेसिङ रूमा साझा गरेका छन्।

चेज मास्टर अजय जडेजा

जडेजा करिब आठ वर्षसम्म भारतीय एकदिवसीय क्रिकेट टिमका नियमित सदस्य थिए।

सन् १९९२ देखि २००० का बीच १५ टेस्ट म्याच खेले पनि उनले १९६ एकदिसवीयमा भारतीय प्लेइङ–११ का हिस्सा थिए।

फिल्डमा सँधै मुस्काइरहने जडेजा आफ्नो चुस्ती फुर्ती र खेलका कारण भारतीय टिमको सबैभन्दा लोकप्रिय खेलाडीमा सामेल थिए।

प्रशंसकहरूका लागि जडेजा ‘मिस्टर चार्मिङ’ थिए। त्यो बेला मैदानमा ‘कयौं प्रशसंक खेल नभएर उनलाई हेर्न’ आउने गरेको दाबी गरिन्थ्यो।

दमदार ब्याटिङ गरेर जडेजाले कैयौं म्याचको रूप नै फेरिदिएका थिए।

उनले ४१ म्याचमा इनिङको सुरूवात गरे। तर, बढी चर्चा मध्यक्रम ब्याटरको रूपमा भयो।

युवराज सिंह, महेन्द्रसिंह धोनी र विराट कोहलीको समय सुरू हुनु धेरैअघि जडेजालाई भारतीय टिमको ‘चेज मास्टर’ र ‘बेस्ट फिनिसर’ भनिन्थ्यो।

पाकिस्तानविरूद्ध अफगानिस्तानको जितपछि १९९६ विश्वकपको दोस्रो क्वार्टर फाइनलको भिडियो फुटेज पनि भाइरल भयो, जसमा जडेजा पाकिस्तानका स्पिडस्टार वकार युनिसको बलमा छक्का प्रहार गरेको देखिन्छ।

त्यो म्याचमा जडेजाले केवल २५ बलमा ४५ रन बनाएका थिए। टि–२० को फर्मेट आउनुअघि खेलिएको त्यो इनिङलाई ‘गेम चेन्जर’ मानिएको थियो। र, आज पनि त्यसको चर्चा हुने गरेको छ।

एकदिवसीयमा जडेजाले ६ शतक र ३० अर्धशतक बनाएका छन्।

शानदार कप्तानी

अजय जडेजा उपयोगी मिडियम पेसर पनि थिए। उनले एकदिवसीयमा २० विकेट लिएका छन्। 

मैदानमा आफ्नो फिल्डिङको दममा कैयौं म्याच उनले भारतको पक्षमा तानेका छन्।

जडेजामा एक उत्कृष्ट कप्तानको छनक पनि देखिन्थ्यो। उनले १३ एकदिवसीय म्याचमा कप्तानी गरे। जसमध्ये ८ मा भारतले जित हासिल गरेको थियो।

म्याच फिक्सिङ विवाद

करियर जोडतोडका साथ अगाडि बढिरहेको बेला म्याच फिक्सिङको आरोपका कारण ब्रेक लाग्यो।

डिसेम्बर २००० मा उनीमाथि पाँच वर्षको प्रतिबन्ध लाग्यो। नोभेम्बर २००४ मा उनको निवेदन खारेज भयो र अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने सपना टुट्यो।

त्यो बेला सुनुवाइका क्रममा जडेजाको तर्फबाट कोही पनि उपस्थित भएनन्। यद्यपि एउटा अदालतले उनलाई घरेलु क्रिकेट खेल्ने अनुमति दिएको थियो।

जडेजा दिल्ली टिममा फर्किए र कप्तान बने। सन् २००५ मा उनले राजस्थान टिमका लागि कप्तान र कोचको दोहोरो भूमिका वहन गरे।

ब्याट छोडे पनि जडेजा कोच र कमेन्टेटरका रूपमा पनि क्रिकेटसँग जुडिरहे।

नयाँ रोलमा हिट

अफगानिस्तान टिमको मेन्टरका रूपमा जडेजाले यो टिमको सोचलाई बदलिदिएका छन्।

अफगानिस्तान टिममाथि नजिकबाट नजर राखिरहेकाहरू जडेजाले यो टिमलाई जितको मन्त्र सिकाइदिएको दाबी गर्छन्।

अफगानिस्तान टिम अब कुनै पनि विरोधी सामुन्ने डरमा नरहेको जडेजाको दाबी छ।

उनी भन्छन्,‘निडरता अफगानी खेलाडीको सबैभन्दा ठूलो गुण हो। यो टिम कुनै पनि अर्को टिमसँग आँखा मिलाएर टक्कर दिन सक्षम छ।’

पाकिस्तानका पूर्वकप्तान शोएब मलिकले जडेजालाई खेलेको देखेको छन्। उनी जडेसँग कमेन्टेटरका रूपमा पनि काम गरिसकेका छन्।

अफगानिस्तान टिममा आएको बदलावको सबैभन्दा बढी श्रेय जडेजालाई दिनुपर्ने उनको भनाइ छ।

जडेजाको संलग्नतापछि अफगानिस्तान टिममा आएको परिवर्तनबारे पाकिस्तान र इंग्ल्यान्डसहित पूरा दुनियाँले थाहा पाइसकेको छ मलिक बताउँछन्।

 

Tags: