post-slider post-slider

सर्वोच्चले भन्यो – कोसीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत देखिएन

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले कोसी प्रदेसका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नदेखिएको बताएको छ।

विश्वासको मतलाई संविधानसम्मत मान्न नसकिने भन्दै सर्वोच्चले दीर्घकालीन महत्वका निर्णय नगर्न समेत आदेश दिएको छ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रक्रियामाथि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार यस्तो दिएको हो।

सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता थापाले सोमबार सभाध्यक्षको समेत मत पाएर विश्वासको मत लिएका थिए।

थापाले विश्वासको मत लिन सोमबार बोलाइएको प्रदेससभा बैठकमा उपसभामुख अनुपस्थित भएपछि ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले सभाको अध्यक्षता गरेका थिए।

मन्सुरीले केहीबेरका लागि प्रदेस सांसद गीता तिमल्सिनालाई अध्यक्षता गर्न लगाएर मुख्यमन्त्री थापाले पेस गरेको विश्वासको मतको पक्षमा मतदान गरे।

मतदानपछि फेरि बैठकको अध्यक्षता गरेका मन्सुरीले विश्वासको मतको परिणाम घोषणा गरेका थिए।

यसअघि थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियामा सभामुख बाबुराम गौतमसमेत सहभागी हुँदा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च पुगेका थिए।

सर्वोच्च अदालतले सभामुखसमेत सहभागी भएर मुख्यमन्त्री बनाउने प्रक्रियालाई असंवैधानिक ठहर गरेर पुनः सरकार गठनका लागि आह्वान गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि सभामुख पदबाट राजीनामा दिएका गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए।

Tags: