post-slider post-slider

बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।

प्रमुख सचेतक रमेश लेखकले बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।

बुधबार बस्ने प्रतिनिधिसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने सरकारको तयारी छ।

‘मिति २०८० असार १३ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विनयिोजन विधेयक २०८० (आव २०८० / ८१ को बजेट) निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन यो ह्विप जारी गरिन्छ,’ लेखकले जारी गरेको सूचनामा उल्लेख छ।

अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटका सम्बन्धमा सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएको छ।

खासगरेर सत्तारुढ दलहरू नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बजेटप्रति असन्तुष्ट देखिएका छन्।

उनीहरूले यथास्थितिमा बजेट पारित गराउन सहयोग नगर्ने चेतावनी सरकारलाई दिएको छ। 

त्यस्तै सरकारलाई समर्थन गरिरहेको जनमत पार्टी पनि बजेटप्रति असन्तुष्ट देखिएको छ।

यथास्थितिमै बजेट पारित भए सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमत पार्टीको चेतावनी छ।

बजेट वितरणप्रति असन्तुष्ट बनेका यी दलहरूले संशोधन गर्न दबाब दिइरहेका छन्।

तर, अर्थमन्त्री महत भने बजेट संशोधन नगर्ने अडान लिएका छन्। संशोधनविनै बजेट पारित हुने उनको दाबी छ।

सत्तारुढ दलहरू नै असन्तुष्ट बनेपछि बजेट पारित हुनेमा अन्योलता देखिएको छ।

 

Tags: