post-slider post-slider

नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जनाविरूद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले कैलालीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा राहत दरबन्दीमा कार्यरत शिक्षक महेश शाहमाथि शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

घोडाघोडी नगरपालिका–२ सोडपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा कार्यरत शाहमाथि नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपमा मुद्दा दायर भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी परेको थियो।

उजुरीमाथि अनुसन्धान हुँदा शाहले माध्यमिक शिक्षा परिषद उत्तर प्रदेस, बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन युपी, राजकीय हुसेनावाद इन्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक प्रमाणपत्र झुटा भएको प्रमाणीत भएको प्रवक्ता दाहालले बताए।

शाहले झुटा शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको हैसियतमा लाभ लिइ भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको पुष्टि भएको उनको भनाइ छ।

सोही आधारमा शिक्षक शाहविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए।

 

Tags: