.png)

रास्वपा : कस्तो पार्टी, कस्ता समर्थक, 'अभियुक्त'लाई अदालतअगाडि स्यालुट!

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुधबार (आज) पुनः अदालत लगिँदै छ।
लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाको तर्फबाट भइरहेको थुनछेक बहस नसकिएपछि उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको थुनछेक बहस भइरहेको छ। बहस नसकिएको भन्दै आइतबार र सोमबार उनलाई हिरासतमा राख्न अदालतले आदेश दिएको थियो।
मंगलबार सार्वजनिक बिदा भएकाले बहस हुन नसकेपछि उनको थुनछेक बहस बुधबारलाई सरेको थियो।
थुनछेक बहस आजै सकिने सम्भावना छ। उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइँ लड्ने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ।
उनलाई अदालत परिसरबाट प्रहरी हिरासतमा लैजाँदा उनका समर्थकहरूले भने बाहिर भने दैनिकजसो नाराबाजी गरिरहेका छन् भने प्रहरी हिरासतमा जानुअघि उनले सबैलाई ‘स्यालुट’ गर्ने गरिरहेका छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर लामिछाने छुटेका थिए।
त्यहाँबाट छुटे पनि लामिछाने शुक्रबार जिल्ला अदालत काठमाडौंमा स्वयम् हाजिर भएका थिए।
काठमाडौं जिल्ला अदालतमा अहिले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाइएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्यालयले उनीविरूद्ध मुद्दा दर्ता गरेको थियो।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाई लागेको छ।
काठमाडौंबाट धरौटीमै छुटे पनि लामिछानेले पार पाउने भने छैनन्। किनकि, उनीविरूद्ध अन्य तीन वटा सहकारी ठगीको आरोप छ।
चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारी ठगीमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ। काठमाडौंबाट छुटिहाले लामिछानेलाई ती तीन सहकारी ठगीको मुद्दामा अदालत पुर्याइने छ।
लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमाथि समेत अनुसन्धान भइरहेको छ। त्यसकारण लामिछानेले लामो समय मुद्दा खेप्नुपर्ने स्थिति छ।
तर, उनका समर्थक भने ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्तो सनसनीपूर्ण आरोप खेपिरहेका लामिछानेलाई 'स्यालुट' दिइरहेका छन्।