post-slider post-slider

बाढी पहिरोले ५० करोडको क्षति

Image
A A

काठमाडौं- पूर्वी नेपालमा गएराति आएको भीषण बाढी पहिरोले सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा समय मागेर बोल्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले यो जानकारी दिएका हुन्।

‘ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, पाँचथरलगायतका जिल्लामा गएराति आएको ठूलो बाढी पहिरोले जनधन क्षति भएको, केही व्यक्तिको ज्यान गएको र केही बेपत्ता भएका छन्,’ उनले भने,‘म ज्यान गुमाउनेप्रति सरकारका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दछु।’

मन्त्री ज्वालाले उद्धार र पीडितको राहत तथा सहयोगका लागि तीब्ररूपमा काम अगाडि बढेको जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरकारी कर्मचारीहरू खोजी, उद्धार र राहतमा सक्रियताका साथ लागेको उनले बताए।

मन्त्री ज्वालाले भने,‘ताप्लेजुङको हुवाखोलामा पुल बगेपछि यो जिल्ला अन्य जिल्लासँगको पहुँच विच्छेद भएको छ। विद्युतसम्पर्क पनि टुटेको छ। अरूण करिडरमा पाँच सय मिटर सडक क्षति भएको छ।’

उनले मध्यपहाडी राजमार्गको पनि केही क्षेत्रमा क्षति पुगेको बताए।

सम्बन्धित कार्यालयमा कुरा गरी तत्काल बेलिब्रिज जडान गर्ने उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको उनले जानकारी दिए।

बेलिब्रिज जडान नभएसम्मका लागि सतहबाट नै डाइभर्सन बनाएर यातायात सञ्चलन गर्न लागि परेको मन्त्री ज्वालाले बताए।

 

Tags: