post-slider post-slider

भारी वर्षाले भारतमा जनजीवन प्रभावित, बाढी पहिरोका कारण २९ जनाको मृत्यु

Image
A A

काठमाडौं- भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ। दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको हो।

मुसलधारे वर्षापछि आएको बाढी पहिरोका कारण भारतमा २९ जनाको ज्यान गएको छ। हिमाञ्चलमा ९, उत्तरप्रदेशमा ६, उत्तरखण्डमा पाँच, जम्मु कश्मीरमा चार, पञ्जाबमा दुई तथा दिल्ली र लद्दाखमा एक/एक जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यी ठाउँमा मुसलधारे वर्षा भइरहेकाले विद्यालय तथा कलेज बन्द गरिएको छ। यस्तै, बढी प्रभावित क्षेत्रमा रेलवे सेवा पनि बन्द भएका छन् भने केही ठाउँमा रेल गुड्ने मार्ग परिवर्तन गरिएको छ। हिमाञ्चलको मन्डी जिल्लामा तीन वटा पुल बाढीले बगाएको छ।

यस्तै, मनालीमा सात घरमा क्षति भएको छ। हिमाञ्चल प्रदेशको आपत्कालीन परिचालन केन्द्रका अनुसार झण्डै ३६ घण्टामा १४ ठाउँमा पहिरो गएको छ भने १३ ठाउँमा बाढी आएको छ। सात सयभन्दा धेरै सडक बन्द छन्।

दिल्लीमा ४१ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ। पछिल्लो २४ घण्टामा १ सय ५३ मिलिमिटर वर्षा भएको छ। यसअघि सन् १९८२ मा त्यहाँ ठूलो वर्षा भएको खबरमा उल्लेख छ। चण्ढीगढमा ७० वर्षयताकै ठूलो वर्षा भएको छ। त्यहाँ २४ घण्टामा ३ सय ६५ दशमलव ४ मिलिमिटर पानी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

Tags: