post-slider post-slider

जनकपुरका मेयर प्रत्याशी लोसपा परित्याग गरी कांग्रेस प्रवेश

Image
A A

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्याशी मनोजकुमार चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्।

शनिबार जनकपुरधाममा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले चौधरीलाई पार्टी प्रवेश गराएका हुन्।

चौधरीसहित कांग्रेस प्रवेश गर्ने नवप्रवेशीहरूलाई निधिले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

बस व्यवसायी संघका अध्यक्षसमेत रहेका चौधरीसहित सात सयभन्दा बढी नेता कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन्।

चौधरी २०७९ सालको स्थानीय तह निर्वाचनमा लोसपाबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेका थिए।

स्थानीय तह निर्वाचनमा उनी तेस्रो भएका थिए। त्यसअघि चौधरी २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन रामसपाबाट संविधानसभा सदस्यका लागि चुनाव लडेका थिए।

चौधरीले मधेसवादी दलहरू जनताका लागि नभएर आफू र आफ्ना आफन्तका लागि काम गर्ने भएकाले पार्टी परित्याग गरेको बताए।

सबैलाई समेटेर हिँड्ने पार्टी भएकाले आफू कांग्रेसमा प्रवेश गरेको उनको भनाइ थियो।

‘मधेसवादी दलहरू जनताका लागि काम गरेनन्, भाइभतिजा, सम्धी, सम्धनी उनीहरूको प्राथमिकतामा रह्यो, त्यसैले पार्टी परित्याग गरेर सबैलाई साथ लिएर हिँड्ने कांग्रेस प्रवेश गरेको छु,’ उनले भने।

आफू विनाशर्त कांग्रेस प्रवेश गरेको उनको भनाइ थियो।

चौधरीका साथै जनकपुरधाम उद्योग वाणिज्य संघका सचिव एवं ग्यास विक्रेता संघका अध्यक्ष फूलदेव पण्डितसहित विभिन्नि राजनीतिक दल परित्याग गरी सात सयभन्दा बढी व्यक्ति कांग्रेस प्रवेश गरेका छन्।

 

 

Tags: