संघीय संसदको दुवै सदनको बैठक बस्दै
काठमाडौं- संघीय संसदको दुवै सदनको बैठक बस्दैछ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक ११ बजेर ११ मिनेटमा बस्न लागेको हो।
प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची छ।
आइतबारदेखि नै छलफलको तयारी गरिए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल सुरू हुन सकेको छैन।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणलगायतका विषयमा सम्बोधन गर्नुका साथै सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनु परेपछि नियमित कार्यसूचीमा सामान्य हेरफेर भएको हो।
त्यस्तै राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
बजेटपछि राष्ट्रियसभामा पनि प्रतिनिधिसभा जस्तै अवरोध सिर्जना भएको थियो।
आइतबारदेखि चार दिनसम्म छलफल गरेर बजेट पारित गर्ने सरकारको तयारी थियो।