post-slider post-slider

किसानलाई मलको सकस, तातोपानीमा थन्कियो साढे ७ लाख बोरा युरिया

Image
A A

सिन्धुपाल्चोक- किसान मल अभावमा समस्या खेपिरहेका छन्। मलको हाहाकारबीच किसानहरूले रोपाइँ सके। अब उनीहरूलाई धान बढ्दै गर्दा खेलमा मल कसरी हाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ।

स्थानीय सहकारीले उपलब्ध गराएका धेरथोर मलले नभ्याएपछि आवश्यक मलको खोजीमा किसान भौंतारिइरहेका छन्। यता सरकारले कृषि सामग्री कम्पनीमार्फत चीनबाट किनेको झन्डै साढे सात लाख बोरा युरिया दुई महिनादेखि भोटेकोशी गाउँपालिका—२ स्थित तातोपानी नाकामा थन्किएको छ।

एक सय ११ कन्टेनरले वैशाखमा सात लाख ३५ हजार बोरा मल ल्याए। तर, उक्त मल यतिबेला लार्चा यार्ड गोदाममा थन्की रहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए।

मलले सिंगो गोदाम ढाकेकाले लोडअनलोड गर्न भन्सारलाई समस्या परेको र बन्दरगाहमा आएका सामग्री भन्सार कार्यालयभित्र राखेर जाँच गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्। किसानले मलको हाहाकार खेपिरहँदा तातोपानीको गोदाममा मल रोकिनु आफैँमा लज्जाको विषय बनेको छ। 

दुई महिनादेखि गोदाममा रहेको मल भन्सार प्रक्रिया सकेर तुरुन्तै पठाउन तयार रहेको र सम्बन्धित पक्षलाई यसबारे खबर पठाइएको भए पनि कुनै वास्ता नगरिएको भन्सार अधिकृत केसीले बताए।

२०७२ को भूकम्पको चार वर्षपछि एकतर्फी मालवाहक रूपमा खुलेको तातोपानीबाट गत वर्षको वैशाख १८ मा निर्यात खुलेको हो। सिल्क कम्पनीअन्तर्गत रहेको सिल्क मार्केट प्रालिले कृषि सामग्री कम्पनीबाट मल आयातको जिम्मेवारी ठेक्का पाएको थियो। ठेक्का आर्थिक वर्ष ०७९/०८० मा सम्झौता भए पनि सम्झौतअनुरूप सिल्क मार्केटले अनेक समस्या देखाएर समयमै मल ल्याउन सकेन। 

गत वर्ष ल्याउनुपर्ने मल यस वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिएन। कृषि सामग्रीसँग आवश्यक प्रक्रिया नसकिएको र थप कुराकानी गरिरहेको सिल्क मार्केटका व्यवसायी रमेश शेर्पाले जनाए।

कृषि सामग्री कम्पनीसँग गत वर्ष भएको सम्झौताअनुसार मल बिक्री गर्न नसकिने भएपछि सिल्क मार्केटले मल भन्सारमै राखेर कम्पनीसँग कुराकानी गरिरहेको हो। गत वर्षको तुलनामा मलको मूल्य घटेकाले आयातकर्ताले मूल्य समायोजन गर्न कृषि सामग्रीलाई अनुरोध गर्दै आएको छ।

Tags: