post-slider post-slider

राष्ट्रियसभा बैठक : सत्तापक्ष र प्रतिपक्षको विरोध

Image
A A

काठमाडौं- राष्ट्रियसभा बैठकमा सत्तापक्षले प्रतिपक्षले गरिरहेको अवरोधको विरोध गरेको छ।

सत्तापक्षका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर प्रतिपक्षको विरोध गरेका हुन्।

शुक्रबारको बैठकको सुरूमा सांसदहरूले समसामयिक विषयमा धारणा राखेका थिए। तर, बैठक कार्यसूचीमा प्रवेश गर्ने बेला भने प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरू आसनबाट उठेर अवरोध गरे।

त्यसपछि सत्ता पक्षका सांसदहरूले पनि बैठक सञ्चालन हुनुपर्ने भन्दै आसनबाट उठेर विरोध जनाएका थिए।

सुन तस्करीका विषयमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद सञ्चालन हुन नदिने अडानमा रहेको एमालेले संघीय संसदको बैठक अवरूद्ध गर्दै आएको छ।

शुक्रबार पनि एमालेले अवरोध गरेपछि सत्ता पक्षका सांसदहरूले पनि उठेर विरोध जनाएका हुन्।

सत्तापक्षका सांसदहरूले बैठकको कार्यसूचीअनुसार कारबाही अघि बढ्नुपर्ने भनेका थिए।

सत्तापक्ष र प्रतिपक्ष दुवै उठेर विरोध जनाउन थालेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले ‘उठेरै बैठक सञ्चालन गर्न पनि स्वास्थ्यले साथ नदिने अवस्था आउँला’ भन्दै ठट्टा गरे।

सत्तापक्ष र प्रतिपक्ष दुवैले विरोध जनाएपछि बैठक सञ्चालन हुन सकेन।

राष्ट्रियसभा अध्यक्ष तिम्लिसिनाले साउन ३१ गते बुधबार १ बजे बस्नेगरी बैठक स्थगित गरेका छन्।

त्रिभुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएको करिब एक क्विन्टल सुन २ साउनमा सिनामंगल नजिकबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

विमानस्थलको भन्सारबाट बाहिरिएको एक क्विन्टल सुन बरामद भएको दुई साता बितिसक्दा पनि तस्करीमा प्रयोग भएका व्यक्ति मात्र पक्राउ परेका छन्।

सुन बरामद हुँदा एक भन्सार एजेन्ट र एक ट्याक्सी चालक पक्राउ परेका थिए। त्यसबाहेक यो प्रकरणमा भन्सार अधिकृत, तीन भन्सार एजेन्ट र तीन विदेशी नागरिकसहित १७ जना समातिएका छन्।

 

Tags: