post-slider post-slider

पाकिस्तानविरूद्धको जितपछि केशव महाराजको हिन्दुत्वको किन भइरहेको चर्चा?

Image
A A

काठमाडौं- शुक्रबार भएको विश्वकपको २६ औं खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १६ बल बाँकी छँदै ४७.२ ओभरमा एक विकेटले पराजित गर्‍यो।

पाकिस्तानले पहिले ब्याटिङ गरेर २७० रनको योगफल बनाएको थियो। जितका लागि २७१ रन पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

चेन्नईको एमए चिदम्बरम मैदानमा भएको खेल अन्तिम बलसम्म रोमाञ्चक रह्यो।

दक्षिण अफ्रिकाका ब्याटर एडन मारक्रमले तीन छक्का र सात चौकाको मदतले सर्वाधिक ९३ बलमा ९१ रन जोडे।

केशव महाराज र तबरेज शम्सी अन्त्यसम्म अविजित रहे। तर, म्याच सकिएपछि चर्चामा छाइरहे केशव, उनको ब्याट र उनको तस्बिर।

जितको चौका

जितका लागि दक्षिण अफ्रिकालाई केवल ११ रन जरूरी थियो। ८ विकेट गुमाइसकेको दक्षिण अफ्रिकाका लुङ्गी एनडिगीलाई आउट गरेर हारिस राउफले खेल पाकिस्तानको पक्षमा फर्काइ दिए।

त्यो बेला दक्षिण अफ्रिकाको हातबाट म्याच गइसकेको धेरैको अनुमान थियो। किनभने जितका लागि पाकिस्तानलाई एक विकेट र दक्षिण अफ्रिकालाई ११ रन आवश्यक थियो।

केशव र सम्सीले सिंगल लिएर स्ट्राइक रोटेट गरिरहेका थिए। जितका लागि चार रनमात्र बाँकी छँदा केशवले चौका प्रहार गरेर म्याच अन्त्य गरे। र, दक्षिण अफ्रिकालाई रोमाञ्चक जित दिलाए।

दक्षिण अफ्रिकासँगको हारपछि विश्वकपको सेमिफाइनलसम्म पुग्ने पाकिस्तानका लागि लगभग असम्भव भइसकेको छ।

रोमाञ्चक त के छ भने पछिल्लो २४ वर्षमा दक्षिण अफ्रिकाको टिम, विश्वकपको कुनै पनि फर्मेटमा पाकिस्तानलाई हराउन सकेको थिएन।

२०१५ र २०१९ को विश्वकपमा पनि पाकिस्तानले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो।

पाकिस्तानलाई पराजित गरेपछि केशव महाराज सामाजिक सञ्जालमा ट्रेन्ड गरिरहेका छन्।

के भनिरहेका छन् मानिस

केशव महाराजको पूरा नाम आत्मानन्द महाराज हो। उनी बायाँ हातको स्पिन बलर हुन्।

२०१६ मा पहिलोपटक फस्र्ट क्लास क्रिकेट खेलेका उनले २०१८ मा श्रीलंकाविरूद्ध कोलम्बोमा भएको टेस्टमा ९ विकेट लिएका थिए। यद्यपि उनको टिम त्यो म्याच जित्नसकेको थिएन।

बलिवुडका प्रख्यात अभिनेता आयुष्मान खुरानाले सामाजिक सञ्जालमा लेखेका छन्,‘केशव महाराजको परिवार उत्तर प्रदेसको सुल्तानपुरका हुन्।’

तीन सप्ताहअघि केशवले केरलास्थित श्री पद्मनाभस्वामी मन्दिरअगाडि खिचेको एउटा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

शुक्रबार म्याचपछि उनको त्यो तस्बिर सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ।

केशव हनुमानभक्त रहेको चर्चा छ। आफ्नो सामाजिक सञ्जालको प्रोफाइलमा उनले ‘जय श्री राम, जय श्री हनुमान’ लेखेका छन्।

उनकौ कैयौं पोस्टमा संस्कृत श्लोकका साथै ‘जय श्री हनुमान’ लेखिएको छ। 

केशवले सामाजिक सञ्जालमा उनी ईश्वरमाथि भरोसा गर्ने गरेको लेखेका छन्।

यसबाहेक सन् २०१६ मा उनले सामाजिक सञ्जालमा भगवान रामको तस्बिर सेयर गरेर ‘रामको नाम नलिनेहरू जिउँदै मर्छन्। रामको नाम लिनेहरू परम धाम पाउँछन्’ भनेर लेखेका थिए।

उनको यो पोस्ट पनि सामजिक सञ्जालमा यतिबेला सेयर भइरहेको छ।

दक्षिण अफ्रिकामा रहेर पनि केशव आफ्नो हिन्दू धर्मको पालन गरिरहेको सामाजिक सञ्जालमा मानिसहरूले लेखिरहेका छन्।

एउटा अर्को पनि चर्चा भइरहेको छ– त्यो हो उनको ब्याट, जसमा ॐ (ओम) लेखिएको छ।

केशवले सामाजिक सञ्जालमा साझा गरेका कतिपय तस्बिरहरूमा उनको ब्याटमा ॐ लेखेको देखिन्छ।

भारतका पूर्वक्रिकेटर मोहम्मद कैफले ‘विश्वकपमा म्याचलाई असाधारण ब्याटरले नभएर असाधारण खेलाडीले जिताउँछन्। क्या गजबको फिनिसर हुन्, केशव महाराजकोे ज हो’ लेखेका छन्।

ध्रुव त्रिपाठीले डिएमके र तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनलाई व्यङ्ग्य गदै लेखेका छन्,‘आज एक हिन्दू, केशव महाराजले पाकिस्तानलाई हराइदिएको छ। एमके स्टालिन र उनका छोराहरू उदास होलान्।’

केही दिनअघि एमके स्टालिनका छोरा उदयनिधिले चेन्नईको एक सभामा सनातन धर्म उन्मूलन गर्नुपर्ने बताएका थिए।

उता पाकिस्तानका लोकप्रिया बलर शोएब अख्तरले एउटा भिडियो साझा गर्दै ‘ढिलो भए पनि दुरूस्त आइयो’  भनेका छन्।

अख्तरले भनेका छन्,‘म्याच हेरेर तपाईं दुःखी हुनुहुन्छ होला, म पनि दुःखी छ। हार के हुन्छ भन्ने कुरा मलाई थाहा छ।

पाकिस्तानले राम्रो खेल खेल्यो त्यसमा सबै जना सहमत हुनुहुन्छ होला। टिमका फास्ट बलर, स्पिनर्सले शानदार प्रदर्शन गरे, पूरा कोसिस गरे, तर जित्न नसकेकोमा दुःखी छौं।’

आइसिसी क्रिकेट विश्वकपको अंकतालिकामा १० अंकका साथ दक्षिण अफ्रिका शीर्ष स्थानमा छ।

दोस्रो स्थानमा १० अंकका साथ भारत छ भने पाकिस्तान टिम चार अंकका साथ छैठौं स्थानमा रहेको छ।

पाकिस्तान टिम पाँचमध्ये केवल दुई म्याचमा जित हासिल गरेको छ।

पाकिस्तानलाई आफ्नो पछिल्लो प्रतिस्पर्धामा अफगानिस्तानसँग हारको सामना गर्नुपरेको थियो।

सेमिफाइनलमा पुग्न पाकिस्तानले बाँकी रहेका सबै खेल उसले जित्नुपर्ने हुन्छ। 

पाकिस्तानले अब न्युजिल्यान्ड, इंग्ल्यान्ड, र बंगलादेशसँग खेल्न बाँकी छ। (बिबिसीबाट)

 

Tags: