post-slider post-slider

चिकित्सक कुटपिटको विरोधमा हेटौंडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प

Image
A A

मकवानपुर- चिकित्सक कुटपिटको विरोधमा हेटौंडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन्। हेटौंडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।

उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौंडाका चिकित्सकले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द गर्नु परेको बताएका छन्।

अस्पतालको आकस्मिक र फार्मेसी सेवा सञ्चालनमा रहेको छ भने ओपिडी, बिरामी भर्न, ल्याब लगायतका सेवा बन्द छन्।

यता हेटौंडा अस्पतालका ७८ चिकित्सकहरूले सामूहिक राजीनामा पत्र तयार गरेका छन्। हेटौंडा अस्पतालका ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेसु सापकोटालाई बुझाएका हुन्। 

मेसु सापकोटाको हस्ताक्षर सहित सो पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी रहेको छ। 

बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन्। बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सन्चो अस्पतालमा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएको थियो। आक्रमणमा परी एनेस्थेसिया डा प्रशान्त बिडारी र डा विकास थापा घाइते भएका छन्। बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ। 

एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन्। घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

Tags: