post-slider post-slider

‘विद्रोह’ का लागि फेरि शेखरलाई उचाल्न खोज्दैछन् देउवा?

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिनुअगावै नेपाली कांग्रेसको संस्थापनइतर समूहले चार सिटमा दाबी गरेको थियो।

त्यो बेला गठबन्धनमा सिटको भागबन्डा टुंगिसकेको थिएन। कांग्रेसले ९–१० पाउनेमा ढुक्क देखिएको इतरपक्षले आन्तरिक भागबन्डामा ४० प्रतिशत सिटमा दाबी गरेको थियो।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कांग्रेसले १० सिट पाउने निश्चित भयो। गठबन्धनको यो निर्णयसँगै पार्टीले ९ सिट पाउँदा ३ सम्ममा चित्त बुझाउने सोच राखेको इतरपक्ष ४ बाट पछि नहट्ने अडान लियो।

र, आफूहरूले चार सिट पाउनुपर्ने अडान लिएर नेता शेखर कोइराला र महामन्त्री गगन थापा सभापति शेरबहादुर देउवालाई भेट्न उनको धुम्बराहीस्थित निवास पुगे।

गठबन्धनको निर्णयपछि देउवा निवास धुम्बराहीमा पार्टीको आन्तरिक बैठक बसेको थियो।

बैठकमा शेखर र गगनले आफ्नो समूहले चार सिट पाउनुपर्ने माग गरे। तर, सभापति देउवाले तीन सिटमात्र दिनसक्ने अडान लिए।

सुरूमा देउवाले दुई सिटमात्रै दिनसक्ने बताए पनि पछि तीनका लागि तयार भए। इतरपक्षले चारभन्दा कमबाट ‘ब्याक’ हुन नसक्ने अडान लियो।

देउवा तयार नभएपछि शेखर र गगन दुवै जना धुम्बराहीबाट बाहिरिए।

‘चार सिटमा हाम्रो अडान छ। सभापतिले तीन सिटमात्र दिन्छु भन्नुभयो। अनि धुम्बराहीबाट उहाँहरू (शेखर–गगन) बाहिरिनुभयो,’ इतरपक्षका एक नेताले भने।

सभापतिसँगको छलफलमा शेखरले प्रतिनिधिसभामा हारेको मान्छेलाई राष्ट्रियसभामा लैजाने विषयमा आफू कुनै पनि हालतमा सहमत हुन नसक्ने प्रष्ट पारेका छन्।

‘हारेको मान्छेमा म सहमत हुन सक्दिनँ, चार सिट जुनसुकै हालतमा चाहिन्छ भनेर उहाँले स्पष्ट कुरा राख्नुभएको छ। सभापति तयार हुनुभएन,’ ती नेताले भने।

शेखर र गगन धुम्बराहीबाट बाहिरिएपछि इतरपक्षको छुट्टै बैठक बसेको थियो। नेताहरूका अनुसार चार सिटको अडानबाट कुनै पनि हालतमा ‘ब्याक’ नहुन सुझाव आएको छ।

‘समूहको आन्तरिक बैठक बसेको हो। चार सिटबाट पछि हट्न नहुने सुझाव आएको छ। त्योबाहेक अरू केही प्रगति भएको छैन। कुरा जहाँ थियो अहिले पनि त्यहीँ छ,’ ती नेताले भने।

शेखरलाई फेरि बिच्काउँदैछन् देउवाले?

१० मध्ये ४ सिटमा इतरपक्षको स्वाभाविक दाबीलाई अस्वीकार गरेर सभापति देउवाले शेखर–गगनहरूलाई बिच्काउन खोजेको कतिपय कांग्रेस नेताहरूले अनुमान गरेका छन्।

कोसी प्रदेसबाट राष्ट्रियसभा सदस्यमा नेता कृष्णप्रसाद सिटौला आउन चाहेका छन्। सिटौला प्रतिनिधिसभा निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग पराजित भएका थिए।

कसैको नाम इंगित नगरे पनि ‘हारेका मान्छेलाई स्वीकार गर्न सकिन्नँ’ भन्ने शेखरको संकेत सिटौलातर्फ हो।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका सिटौलालाई शेखर राष्ट्रियसभा सदस्यमा रोक्न चाहेका छन्, प्रदेसको राजनीतिक सन्तुलनको हिसाबले।

तर, १४ औं महाधिवेशनमा आफूलाई सघाएका सिटौलालाई सभापति देउवा ‘नाइँ’ भन्ने स्थितिमा छैनन्।

चार सिट र हारेको मान्छेलाई ल्याउन नहुने इतरसमूहको अडानकाबीच देउवाले शेखरलाई बिच्काएर फेरि एकपटक ‘कोसी–विद्रोह’ को श्रृंखला दोहो¥याउन चाहेको कांग्रेस नेताहरूको बुझाइ छ।

कोसी प्रदेसमा कांग्रेसको भागमा परेको मुख्यमन्त्री पद देउवाले माओवादी केन्द्रलाई सुम्पिएपछि शेखरहरूले विद्रोह गरेका थिए। र, एमालेसँग सहकार्य गरेर उनले आफूनिकट केदार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गराए।

सभापति देउवा अहिले ठीक त्यही तरिकाले ‘विद्रोह’ गर्न बाध्य बनाउन खोजेको शेखरनिकट एक नेताको भनाइ छ।

‘आफूहरूले राखेको अडान पूरा नहुँदा शेखर दाइहरू फेरि विद्रोहमा उत्रिनुहुन्छ भन्ने बुझाइ सभापतिको हुनसक्छ,’ ती नेता भन्छन्,‘मुख्यमन्त्री प्रकरणजस्तै ८ जना प्रदेस सांसदमात्रै विद्रोहमा उत्रिए कांग्रेसका उम्मेदवार हार्ने निश्चित हुन्छ। यसो गर्न लगाएर उनी सबै अपसज शेखरदाइमाथि लगाउन खाजिरहनुभएको छ।’

राष्ट्रियसभा सदस्यमा निर्वाचित भएर सिटौला अध्यक्ष बनाउन चाहिरहे पनि सभापति देउवा भने नेत्री पुष्पा भुसाललाई अध्यक्ष बनाउन खोजेको उनको भनाइ छ।

‘सभापतिजीले लुम्बिनीमा अन्य र महिलामध्ये महिला रोज्नुभएको छ। त्यसको कारण के हो भने त्यहाँबाट पुष्पा भुसाललाई उम्मेदवार बनाउने अनि पछि अध्यक्षमा निर्वाचित गराउने,’ उनी भन्छन्,‘इतरपक्षको विद्रोहका कारण सिटौला पराजित भए भुसाललाई अध्यक्ष बनाउन उहाँलाई सहज हुन्छ र सबै गल्ती शेखर दाइमाथि आउँछ।’

ती नेताका अनुसार देउवाले नेता सिटौलालाई आश्वासन दिए पनि राष्ट्रियसभा अध्यक्ष बनाउनतर्फ उनको बढी झुकाव भुसालतर्फ रहेको छ।

मागअनुसारको सिट नपाए इतरपक्षले विद्रोह गर्छ भन्ने प्रश्नको जवाफमा उनले भने,‘विद्रोह हुन्छ नै अहिले भन्नु हतारो हुन्छ। त्यो परिस्थिति बनिसकेको छैन। छलफलहरू भइरहेका छन्। तर, सभापतिले त्यही चाहिरहनुभएको हाम्रो बुझाइ छ।’

 

Tags: