post-slider post-slider

सिम्रौनगढमा कर्मचारी र प्रहरीबीच झडप, दुई जना घाइते

Image
A A

काठमाडौं- बाराको सिम्रौनगढमा आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुँदा दुई जना घाइते भएका छन्।

प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने/ नगराउने विषयमा जारी विवादलाई लिएर बिहीबार फेरि झडप भएको हो।

घाइते हुनेमा सिम्रौनगढ-४ का राजेशी सहनी र वडा नम्बर ७ का रामनिवास राम रहेका छन्।

६० दिनदेखि शान्तिपूर्ण धर्नामा बसेका कर्मचारीले सुरूमा ढुंगामुढा नगरेको बरू प्रहरीले दमन गरेपछि घटनाले उग्ररूप लिएको वडा नम्बर २ का वडाअध्यक्ष अरविन्दकुमार मुखियाको भनाइ छ।

यसअघि बुधबार भएको झडपमा प्रहरीको गोली लागेर वडा नम्बर १ का २५ वर्षीय लक्ष्मी मुखियाको मृत्यु भएको थियो।

मेयर किशोरी साह सिम्रौनगढ नगरपालिकामा ६ महिनादेखि खालीरहेको प्रमुख प्रशासकीय अधिकृतमा  महेशकुमार मिश्रलाई ल्याउन चाहरका छन्।

तर कर्मचारीहरू मिश्रलाई हाजिर हुन नदिने अडान लिएका छन्।

बुधबार मिश्र कार्यालयमा हाजिर हुन आएपछि आन्दोलनरत कर्मचारी र स्थानीयले गाडी तथा कार्यालय भवनमा ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीको भमाइ छ।

Tags: