post-slider post-slider

‘अफलाइन राइडर’ बाट थपिँदै सुरक्षा चुनौती

Image
A A

काठमाडौं- हालै काठमाडौंको बालाजुमा बसले ठक्कर दिँदा स्कुटरमा चालकपछाडि बसेकी एक महिलाको घटनास्थलमै ज्यान गयो।

प्रहरीका अनुसार घटनापछि ‘अफलाइन राइडर’ फरार भए। 

चालन अनलाइन नभएका कारण उनको पहिचान गर्न प्रहरीलाई तुलनात्मक रूपमा बढी समय लाग्यो।

त्यसअघि काठमाडौंकै माछापोखरीमा एक महिलामाथि धारिलो हतियार प्रयोग गरी भाग्ने क्रममा आरोपितले अफलाइन राइडिङ सेवा लिएको पाइएको थियो।

काठमाडौं उपत्यकामा राइड सेयरिङसम्बन्धी भएका यी दुई प्रतिनिधि घटनामात्रै हुन्।

उपत्यकाभित्र आवतजावतका लागि धेरै मानिसलाई सजिलो बनाएको बताइने अनलाइन राइड सेयरिङले समस्या पनि थपिरहेको अधिकारीहरू बताउँछन्।

पछिल्लो समय अफलाइन राइडिङबारे गुनासो बढिरहँदा त्यसबाट समस्या पनि निम्तिएको भन्दै प्रहरीले अफलाइन सेवा नलिन प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ।

काठमाडौं उपत्यकामा खासगरी अनलाइन राइड सेयरिङ कम्पनीहरू पठाओ र इनड्राइभ बढी प्रयोगमा छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार अनलाइन राइड सेयरिङका नाममा अफलाइन राइड गर्ने ८३ जनालाई नियन्त्रणमा लिइ सोमबार सोधपुछ गरिएको छ।

अफलाइन राइडरहरूबारे सम्बन्धित सेवाप्रदायक कम्पनीहरूलाई जानकारी पनि गराउने उनले बताए।

त्यस्ता राइडरलाई सम्बन्धित कम्पनीले निलम्बन गर्ने गरेको मैनाली बताउँछन्।

यसअघि पनि प्रहरीले कैयौंपटक अफलाइन राइडरहरूलाई नियन्त्रणमा लिएका उदाहरणहरू छन्।

यस्ता घटनामा वृद्धि भएसँगै ट्राफिक प्रहरी र सादा पोसाकमा रहेका प्रहरीले अफलाइन राइडरलाई पछ्याउनेदेखि चोकचोकमा पार्किङ गरेर यात्रु कुर्नबाट रोक्ने काम गरिरहेको मैनाली बताउँछन्।

प्रहरीका अनुसार अनलाइन राइड सेयरिङमा दर्ता नभएका कतिपय व्यक्तिले पनि त्यसरी अफलाइन राइड गर्ने गरेको पाइएको छ।

अफलाइन राइडरहरूले प्रयोगकर्तासँग मोलमोलाइ गरी बढी रकम लिने गरेका, यात्रीलाई गन्तव्यमा नपु¥याउने गरेका विवरण पटक–पटक आउने गरेका छन्।

तर, ती समस्याबाहेक सुरक्षासम्बन्धी चुनौती पनि थपिएको परिसरका प्रवक्ता मैनालीको भनाइ छ।

एकातर्फ अफलाइन राइडरबाट सेवा लिँदा ग्राहकलाई घाटा हुन्छ भने अर्कोतर्फ तिनीहरू आपराधिक गतिविधिमा संलग्न हुँदा अनुसन्धान प्रक्रियामा कठिनाइ हुने गरेको बताइएको छ।

नेपालमा अनलाइन राइड सेयरिङसम्बन्धी अहिलेसम्म कानुन छैन। तर, हालै सर्वोच्च अदालतले आवश्यक कानुन बनाइ नियमित गर्न आदेश दिएको थियो।

‘अफलाइन राइडरले ग्राहकका पर्स नै लुटेर भागे भने के गर्ने, गरगहना लिएर भागे भने के गर्ने? त्यो भएर सकेसम्म अफलाइन प्रयोग नगर्न, त्यसलाई निषेध नै गर्न हाम्रो आग्रह छ,’ प्रवक्ता मैनाली भन्छन्।

कमिसन दिन नपर्ने लोभमा कतिपय राइडरले अफलाइन सेवा दिने गरेका स्वयं राइडरहरू नै बताउँछन्।

पठाओले राइडरबाट २० प्रतिशतसम्म कमिसन लिने गरेको उनीहरूको भनाइ छ।

तर, अफलाइन राइडिङ दुवै पक्षका लागि ठीक नभएको एक राइडर बताउँछन्।

अफलाइन सेवाका कारण कहिले राइडर त कहिले ग्राहक समस्यामा पर्ने जोखिम रहेको उनको भनाइ छ।

 

Tags: