विश्वकप क्रिकेट छनोट प्रतियोगिता : नेपालसामू ३४० रनको विशाल लक्ष्य
काठमाडौं- विश्वकप छनोट क्रिकेट प्रतियोगितामा वेस्टइन्डिजले नेपालसामू जितका लागि ३४० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
जिम्बावेको हरारेस्थित मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले जितका लागि नेपालसामू यो लक्ष्य प्रस्तुत गरेको हो।
विश्वकप विजेत रहिसकेको वेस्टइन्डिजले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३९ रन बनाएको हो।
कप्तान साई होप र निकोलस पुरनकोे सतकीय इनिङले वेस्टइन्डिज ३३९ रन जोड्न सफल भयो।
होपले १२९ बल खेलेर १३२ र पुरनले ९४ बलमा ११५ रन जोडे। कप्तान होपलाई ललित राजवंशी र पुरनलाई दीपेन्द्रसिंह ऐरीले आउट गरे।
तर, यी दुई ब्याट्सम्यान आउट हुँदासम्म धेरै ढिलो भइसकेको थियो। सुरूवाती ओभरमा कमजोर सुरूवात गरेको वेस्टइन्डिजलाई आउट हुनुअघि होप र पुरनले दह्रिलो स्थितिमा पु¥याइसकेका थिए।
र, यसका लागि पुरनले पाएको दुई जीवनदान प्रमुख कारण बन्यो।
सुरूवाती चरणमा ब्याटिङका लागि संघर्षरत वेस्टइन्डियन ब्याट्सम्यानहरूले मध्य ओभरमा सानदार प्रदर्शन गरे।
नेपालले दोस्रो ओभरमै वेस्टइन्डिजका ओपनर कल मायर्सलाई आउट गरेको थियो।
करण केसीको बलमा कुशल भुर्तेलले मायर्सको क्याच लिएका थिए। आउट हुनुअघि मायर्सले जम्मा १ रनमात्र बनाउनसके।
पाँचौं ओभरमा वेस्टइन्डिजका तेस्रो नम्बरका ब्याट्सम्यान जोन्सन चाल्र्सलाई गुलसन झाले विकेटकिपर आसिफ शेखबाट क्याच आउट गरे।
गुलसनको स्पेलको पहिलो बलमै आउट भएका चाल्र्सले खातासमेत खोल्न सकेनन्।
१५.३ ओभरमा तेस्रो विकेटका रूपमा ब्रेन्डन किंग आउट भए। ३२ रन बनाएर खेलिरहेका किंगलाई सन्दीप लामिछानेले बोल्ड गरे।
त्यसपछि कप्तान होप र पुरनको सुझबुझपूर्ण ब्याटिङले वेस्टइन्डिजलाई विशाल स्कोर खडा गर्न सहज बनायो। यी दुवैले सतकीय पारी खेल्दा चौथो विकेटका लागि २१६ रनको साझेदारी गरे।
४७.१ ओभरमा ललितले वेस्टइन्डिजका पाँचौं विकेटका रूपमा रोभन पावेललाई गुलसनबाट क्याच आउट गराए।
पावेलले १४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाए। इनिङ्सको अन्तिम बलमा ललितले किमो पाउललाई १ रनमा बोल्ड गरे।
जेसन होल्डर १६ रनमा नटआउट रहे।
नेपालले वेस्टइन्डिजविरूद्धको खेलमा ७ जना बलर प्रयोग गरेको थियो।
प्रतियोगितका समूह ‘ए’ मा रहेको नेपालले यसअघि पहिलो खेल घरेलु टोली जिम्बावेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो।
आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा खेल्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेका सुपर सिक्समा पुग्नुपर्छ।