post-slider post-slider

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन

Image
A A

काठमाडौं - मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहको निधन भएको छ।

भारतको नयाँदिल्लीको एक अस्पतालमा बिहीबार बिहान साहको निधन भएको हो।

उनी करिब दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित थिए।

केही दिनअघि दिल्लीबाट उपचार गराएर फर्किएका साहको स्वास्थ्य अवस्था बिग्रिएपछि काठमाडौंको एभरेस्ट अस्पतालमा भर्ना गराइएको थियो।

काठमाडौंमा उपचार सम्भव नभएपछि एक साताअघि उचारका लागि उनी पुनः नयाँदिल्ली गएका थिए।

जनकपुरधामका स्थायी निवासी साह नशा तथा हाडजोर्नी क्षेत्रमा विशेषज्ञका रूपमा अनुभवी र लोकप्रिय चिकित्सक थिए।

साहको निधनप्रति नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले समवेदना व्यक्त गरेका छन्।

विद्यालयकालदेखिको मित्रसमेत रहेका मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधनको खबरले आफू स्तब्ध भएको निधिले बताएका छन्।

समवेदना व्यक्त गर्दै निधिले प्रजातन्त्र पुनर्वहालीका लागि २०४६ सालमा भएको आन्दोलनमा साहले पु¥याएको योगदान पनि स्मरण गरेका छन्।

‘आदरणीय मित्र, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी डा.रामकेवल साहको दिल्लीमा उपचारका क्रममा निधन भएको खबरले स्तब्ध भएको छु,’ निधिले सामाजिक सञ्जालमा लेखेका छन्,‘२०४६ सालमा उहाँको घरम भूमिगत बसी इन्जिनियर सत्यनारायण साह, विन्देश्वर महासेठ, परिवार र साथीहरूसँग मिलेर आन्दोलन सञ्चालन गरेको सगर्व स्मरण गर्दछु।’

 

Tags: