post-slider post-slider

सुन तस्करी गर्न ७ वटा कम्पनी दर्ता, रेडी ट्रेडर्सविरूद्ध ३ अर्ब बढीको बिगो दाबी

Image
A A

काठमाडौं- नेपालमा सुन तस्करी गर्न सातवटा कम्पनी दर्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाउनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो।

अनुसन्धान अधिकृत संजयसिंह थापाले नेपालमा सुन तस्करी गर्न सातवटा कम्पनी दर्ता भएको अनुसन्धानबाट पहिचान भएको बताए।

उनले तस्करीको सुन नेपाल भित्र्याउन तस्करहरूले हङकङलाई मूल थलो बनाएको जानकारी दिए।

अनुसन्धान अधिकृत थापाले सुन तस्करीका लागि सोझा नेपालीलाई फकाएर ७ वटा कम्पनी दर्ता गरेको देखिएको बताए।

‘सातमध्ये ६ वटा कम्पनीबाट सुन आयात गरिएको देखिन्छ। उनीहरूले ब्रेक प्याडलगायतका उपकरणमार्फत सुन भित्र्याएको पनि खुलेको छ,’ उनले भने,‘अहिले रेडी ट्रेड प्रालिबाट ब्रेक प्याडमार्फत आएको ८ कार्टुनमा ६० केजी ७ सय ग्राम सुन भेटिएको छ।’

रेडी ट्रेडबाहेक अन्य ६ वटा कम्पनीले पनि लुकाइछिपाइ सुन आयात गरेको अनुसन्धानबाट खुलेको उनले बताए।

थापाले ६ वटा कम्पनीको समेत अनुसन्धान गरेर पूरक प्रतिवेदन बन्ने जानकारी दिए।

सुन तस्करीमा मुलतः चिनियाँ नागरिक संलग्न भएको पाइएको सिआइबीको अनुसन्धानबाट खुलेको छ। 

तस्करीमा संलग्न चिनियाँ नागरिकहरू हङकङ बसेर नेपाल आउजाउ गरेको अनुसन्धानमा देखिएको छ।

‘चिनियाँ नागरिक लीन भन्ने व्यक्तिले तीनवटा कम्पनीमार्फत तस्करी गरेको देखिन्छ। उनले हङकङको एयर कार्गोबाट सुन ल्याएको पाइएको छ। त्यसरी आएको सुन थुक्पे छिरिङले व्यवस्थापन गरेको र उनलाई हर्कराज राईले सघाएको,’ सिआइबीको अनुसन्धानबाट खुलेको छ।

सिआइबीले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान टुंग्याएको छ।

रेडी ट्रेडर्स कम्पनीले ३०२ किलो सुन भित्र्याएको सिआबीको अनुसन्धानमा खुलेको छ।

सिआइबीले अनुसन्धान प्रतिवेदनमा रेडी ट्रेडर्सविरूद्ध ३ अर्ब ५० करोड बिगो रकम दाबी गरेको छ।

यो प्रकरणको अनुसन्धानका क्रममा सिआइबीले ३२ जनलाई पक्राउ गरेको छ भने १८ जना फरार छन्।

फरार हुनेमा पक्राउ परेका दावा छिरिङकी श्रीमती कमला रोकासहित अन्य रहेका छन्।

 

Tags: