post-slider post-slider

डेंगी आउटब्रेक: १ हजार १९२ जनामा संक्रमण, एकको मृत्यु

Image
A A

काठमाडौं। नेपालमा यसवर्ष पनि डेंगी आउटब्रेक भइसकेकोछ । अहिलेसम्म १ हजार १९२ जनामा डेंगीको संक्रमण पुष्टि भएका छन् भने डेंगी पुष्टि भएकामध्ये १ जनाको मृत्युसमेत भएको छ ।

सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको पत्रकार अन्तक्रियामा १ हजार १ सय ९२ जनामा डेंगीको संक्रमण पुष्टि भएको र डेंगी पुष्टि भएकामध्ये १ जनाको मृत्युसमेत भएको जानकारी दिएको हो।

यसवर्ष ६५ वटै जिल्लाको २ सय ३१ स्थानीय पालिकामा डेंगीका बिरामी देखिएका छन् ।डेंगु सङ्क्रमितमध्ये काठमाडौंमा ४६, ललितपुरमा १३ र भक्तपुरमा ३६ जनामा डेंगु पुष्टि भएको छ । 

गत वर्ष असारदेखि मङ्सिरसम्म ७७ वटा जिल्लामा फैलिएको थियो । गत वर्ष नेपालमा डेंगु सङ्क्रमण अहिलेसम्मकै बढी भएको थियो । इडिसिडीका अनुसार गत वर्ष  ५४ हजार ७८४ जनामा डेंगुका बिरामी भेटिएका थिए भने ८८ जनाले ज्यान गुमाएका थिए। जसमा बाग्मती प्रदेशमा ७७ र काठमाडौं उपत्यकामा मात्रै ५६ प्रतिशतमा डेंगु पुष्टि भएको थियो । 

२०६१ सालमा पहिलो पटक डेंगु नेपालमा पुष्टि भएयता बेलाबेलामा महामारीको रूपमा देखिने गर्छ । डेंगु असारदेखि कात्तिकसम्म तीव्र गतिमा बढ्ने विभिन्न अध्ययनले देखाएको छ । यो वर्ष पनि डेंगु सङ्क्रमितको सङ्ख्या पनि बिस्तारै उकालो लाग्दै गरेकोले डेंगु फैलिन नदिन सबै  सचेत रहन इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको आग्रह छ । 

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले वर्षायाम सुरु भएसँगै देशका विभिन्न जिल्लामा डेंगु सङ्क्रमणको जोखिम बढ्ने हुँदा पानी जम्मा हुने टायर व्यवस्थापन गर्न वर्कसपहरूका सञ्चालकहरूसँग छलफल गरेको जानकारी दिए । 

पानी परेपछि टायरमा पानी जम्ने र त्यहीँ लामखुट्टेले लार्भा बनाएपछि लामखुट्टे फैलने जोखिम बढी भएकाले वर्कसपका सञ्चालकसँग छलफल गरेको बताए । 

साथै सरकारले डेंगु सङ्क्रमण नफैलियोस् भने महाशाखाले गत वर्ष पाँच सयभन्दा धेरै डेंगु बिरामी रिपोर्टिङ भएका जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र स्वास्थ्य शाखा प्रमुखहरूसँग डेंगुको एउटा केस देखिए पनि सचेत रहने विषयमा छलफल गरेको डा. दाहालको भनाइ छ । 

डेंगु सङ्क्रमित उपचार गर्ने अस्पतालका प्रमुखसँग पनि छलफल गरेको डा. दाहालले जानकारी दिए ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि डेंगु नियन्त्रण गर्न डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गर्न हरेक शुक्रबार १० मिनेट समय निकालेर घर, कार्यालय वरिपरि पानी जम्मा हुने ठाउँ सफा गर्न आग्रह गर्दै आएको छ ।  

 

Tags: