post-slider post-slider

इजरायलको आक्रमणमा परी अलजजिराका क्यामराम्यानको मृत्यु, परिवार गुमाइसकेका पत्रकार घाइते

Image
A A

काठमाडौं- इजरायलको हमालमा परेर कतारको टेलिभिजन समूह ‘अल जजिरा’ का एक प्यालिस्टिनी क्यामराम्यानको मृत्यु भएको छ भने मुख्य संवाददाता घाइते भएका छन्।

खान युनिसको एक स्कुलमा इजरायलको हमलाबारे रिपोर्टिङ गरिरहेका बेला यो आक्रमण भएको थियो।

मृत्यु भएको क्यामराम्यानको नाम समर अबू दक्का रहेको बताइएको छ भने घाइते संवाददाता अल–दहदौह हुन्।

अल जजिराका अनुसार स्कुलमा इजरायली हमलाबारे रिपोर्टिङ गरिरहेका बेला अर्को एक ड्रोन आक्रमणका कारण यो घटना भएको थियो।

संवाददाता दहदौहको बाहुला र पाखुरामा गम्भीर चोट लागेको छ भने अबू दक्का रगतले लथपथ भएर भुइँमा खसेका थिए।

अस्पतालमा उपचार गराइरहेका दहदौहले आक्रमणपछि उनको शरीरबाट रगत बगिरहे पनि भाग्नमा सफल भएको अल जजिरालाई बताएका छन्।

खान युनिसका बासिन्दा ४५ वर्षीय अबु दक्का जुन २००४ देखि अल जजिराका लागि काम गरिरहेका थिए। इजरायली सेनाले अबु दक्काको मृत्युबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि अक्टुबरको अन्त्यतिर घाइते पत्रकार दहदौहकी श्रीमती, छोरा, छोरी र नातिको इजरायली आक्रमणमा परेर ज्यान गएको थियो।

इजरायलले नियतवस् दहदोहको परिवारलाई निशाना बनाएको अल जजिराले आरोप लगाएको छ।

दहदौहलाई प्यालिस्टिनी नागरिकको अनुहार ठानिन्छ। प्यालिस्टिनीको पीडा र कठिनाइबारे विश्वलाई जानकारी गराउँदै आएका उनको गाजामा ज्यादै सम्मान छ।

कमेटी टु प्रोटेक्ट जर्नालिस्टका अनुसार ७ अक्टुबरमा हमास र इजरायलबीच युद्ध सुरू भएयता अहिलेसम्म दक्कासहित कुल ६४ पत्रकारको ज्यान गइसकेको छ।

मृत्यु भएका पत्रकारमध्ये ५७ जना प्यालिस्टिनी, ४ इजरायली र ३ लेबनानीरहेका छन्।

 

Tags: