post-slider post-slider

दक्ष कामदारको ठूलो अभाव झेल्दै जर्मनी, देशको अर्थतन्त्र खस्किँदै

Image

बर्लिनः विगत केही वर्षदेखि जर्मनीको अर्थतन्त्रले दक्ष कामदारको अभावसँग संघर्ष गरिरहेको छ। जर्मनीमा धेरै संख्यामा मानिसको अभाव नभएको क्षेत्र सायदै होला। यो अभाव विगत केही वर्षदेखि निरन्तर बढ्दै गएको छ।

यस विषयमा छलफल गर्न सरकारले २६ फेब्रुअरीमा बर्लिनमा बैठक बोलाएको थियो। जर्मनीका श्रममन्त्री ह्युबर्टस हेल सम्मिलित सो बैठकमा उद्योगका ७ सयभन्दा बढी प्रतिनिधि, विभिन्न संघसंस्था र समाजका विभिन्न वर्गको सहभागिता रहेको थियो। 'यदि हामीले श्रमिक अभावको समस्या तुरुन्तै समाधान गरेनौं भने, यो जर्मनीको विकासका लागि ठूलो बाधा बन्नेछ,' श्रममन्त्री हेलले चेतावनी दिए।

विदेशबाट कामदारहरूलाई जर्मन गाउँहरूमा ल्याउन चुनौती

सोही सम्मेलनमा जर्मनीका आर्थिक मामिला मन्त्री रोबर्ट ह्याबेकले भने, 'देशमा काम गर्न चाहने सबैलाई रोजगारी र तालिम दिन बढ्दो आवश्यकता छ,' उनले थपे, 'दीर्घकालमा जर्मनीले विकास गर्छ कि गर्दैन र देशको समृद्धि बढ्छ वा हालको अवस्था उस्तै रहन्छ कि भन्ने निर्णायक प्रश्न हुनेछ।'

कामदारका समस्या

जर्मनीमा लाखौं रोजगारी खाली छन् र तिनलाई पूर्ति गर्न पर्याप्त कामदारहरू नभएको अवस्था छ। ह्याबेकले भने, 'यदि तपाईंले यो संख्या भविष्यमा बढ्ने देख्न सक्नुभएन भने, तपाईं अन्धो हुनु हो।'

श्रम मन्त्री ह्युबर्टस हेलले ऊर्जा आपूर्तिमा स्थिरता, राम्रो योजना र दक्ष कामदारको आधार सुरक्षित गर्नुलाई जर्मन अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक कदम भएको बताए। 'देश साँच्चै बलियो छ, तर हामीले सुधार गर्न आवश्यक छ,' हेल भन्छन्। हेलले जर्मनीले समयविरुद्ध काम गरिरहेको आरोप स्वीकार गरे। 

विद्यार्थीहरूले आफ्नो पढाइ पूरा गर्न सकेका छैनन्

सोही सम्मेलनमा श्रममन्त्रीले रोजगार अनुसन्धान संस्थानको प्रतिवेदनलाई उद्धृत गर्दै २० देखि २९ वर्ष उमेर समूहका १६ लाख व्यक्तिले प्रारम्भिक व्यावसायिक तालिम नपाएको बताए। शिक्षा मन्त्री बेटिना स्टार वाट्सिन्जरले हरेक वर्ष ४५ हजारभन्दा बढी मानिसले पढाइ पूरा नगरी विद्यालय छोड्ने गरेको बताइन्।

कामदार अभाव टार्न जर्मन सरकारले खोल्यो ढोका

अर्कोतर्फ सम्मेलनमा आएका युवाले विद्यालयमा पर्याप्त व्यावसायिक तालिम नभएको गुनासो गरेका छन्। मन्त्री बेटिना स्टारले जर्मनीमा विश्वविद्यालय शिक्षाभन्दा अझै पनि प्रशिक्षण वा व्यावसायिक तालिमलाई न्यून मानिने गरेको पनि बताइन्।

समाचार एजेन्सी डीपीएसँग कुरा गर्दै श्रममन्त्रीले दक्ष कामदारको उपस्थिति सुनिश्चित गरे मात्रै समृद्धिको सुनिश्चितता हुने बनाइन्। यससँगै उनले अहिले पहिलेभन्दा धेरै मानिसले काम गरिरहेको तर जर्मनीलाई धेरै मानिसको आवश्यकता रहेको बताइन्। श्रममन्त्रीका अनुसार हाल जर्मनीमा कामदारको संख्या ४ दशमलव ६ करोड रहेको छ। जर्मन सरकारले दक्ष कामदार भर्ना गर्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ।

आर्थिक कठिनाइहरू

यसैबीच अहिलेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै जर्मनीका धेरै कम्पनीले कम काम गर्ने योजना बनाएका खबरहरू बाहिरिएका छन्। जर्मनीको आर्थिक संस्था ‘द आइएफओ इन्स्टिच्युट’ ले आफ्नो रोजगारी ब्यारोमिटर विगत तीन वर्षयताकै न्यून स्तरमा झरेको जनाएको छ।

यो फेब्रुअरीमा ९४. ९ विन्दुमा आएको थियो। यसअघि जनवरीमा ९५.५ र डिसेम्बरमा ९६.५ थियो। संस्थाका सर्वेक्षण निर्देशक क्लाउस भोलराबे भन्छन्, 'अर्थतन्त्र यति ठप्प छ कि कम्पनीहरूले नयाँ नियुक्तिहरू रोकिरहेका छन्। मानिसहरूलाई निकालिने सम्भावनालाई पनि नकार्न सकिँदैन।'

म्युनिखमा रहेको यो संस्थाले हरेक महिना ९,५०० कम्पनीहरूको सर्वेक्षण गर्छ। यसमा औद्योगिक, निर्माण, खुद्रा र सेवा क्षेत्रका कम्पनीहरू छन्। उनीहरूलाई आगामी तीन महिनाको योजनाबारे सोधिएको थियो। यसअघि यो ब्यारोमिटर फेब्रुअरी २०२१ मा कोरोना भाइरसको महामारीको समयमा यति कम पुगेको थियो।

एकातिर कामदारको अभाव, अर्कोतिर अर्थतन्त्रको सुस्त गति। यस्तो अवस्थामा जर्मनीका कम्पनीहरूले आफ्नो काम कम मानिसबाट चलाउन खोजिरहेका छन्। यद्यपि, आईटी र सल्लाहकारमा कामका लागि मानिसहरूको माग एकदम बढेको छ।

यस्तो अवस्थामा जर्मनीले नेपालबाट पनि कामदार लैजानेबारे द्विपक्षीय श्रम सम्झौता गरिसकेको छ। तर कुन क्षेत्रमा कति कामदार लैजाने भन्नेबारे निर्णय हुन भने बाँकी छ। सन् २०२४ भित्रमा नै जर्मन सरकारले ठूलो संख्यामा नेपाली दक्ष कामदार लैजाने सम्भावना छ।

Tags: