post-slider post-slider

बाग्लुङ ढोरपाटनका मेयरलाई पक्राउ गर्न ‘रेड कर्नर’ नोटिस

Image
A A

काठमाडौं- बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर’ नोटिस जारी गरेको छ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरूको ३५ करोड गरी करिब २ अर्ब रूपैयाँ हिनामिना गरी बेपत्ता भएपछि प्रहरीले ‘रेड कर्नर’ नोटिस जारी गरेको हो।

नेपाली गत वैशाखदेखि सम्पर्कविहीन छन्। सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रमीत छेला नेपालीसहित ८ जनाविरूद्ध मुद्दा चलिरहेको छ।

नेपाली र उनकी श्रीमतीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीको अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) मार्फत ‘रेड कर्नर’ नोटिस जारी गरेको हो।

अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका गरिएको छ। यही आशंकाका आधारमा बचतकर्ताहरूले उनलाई पक्राउ गर्न ‘रेड कर्नर’ नोटिसको माग गरेका थिए।

बाग्लुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तिलाई पक्राउ गर्न ‘रेड कर्नर’ नोटिस जारी भएको बताए।

डिएसपी केसीका अनुसार प्रहरी प्रधान कार्यालयले नेपाली दम्पत्तिलाई पक्राउ गर्न १० माघमा ‘रेड कर्नर’ नोटिस जारी गरेको हो।

‘नेपालमा भएको भए हामी पक्राउ गरिसकेका हुन्थ्यौं। उहाँ देश बाहिर हुनुहुन्छ भन्ने हाम्रो आशंका छ,’ केसीले आयोमेलसँग भने,‘देश बाहिर भएको सूचनाका आधारमा रेड कर्नर नोटिस जारी गरिएको हो। अब उनी कुन देशमा हुनुहुन्छ त्यही देशको प्रहरीले खोजी गरेर सुर्पुदगी गर्छ।’

नेपाली दम्पत्तिविरूद्ध १ हजार ५५० जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएको उनले जानकारी दिए।

बचतकर्ताहरूले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेको छ।

उनीहरूलाई पक्राउ गर्न अदालतले जेठमै पक्राउ पूर्जी जारी गरेको थियो। तर, उनीहरू वैशाख ६ गतेदेखि नै सहकारीको कार्यालय बन्द गरेर फरार भएका थिए।

नेपालीले सहकारी बचकर्ताका १ अर्ब ६० करोड रूपैयाँ हिनामिना गरेको अनुमान गरिएको छ।

त्यसबाहेक उनले ग्लोबल आइएमइ, राष्ट्रिय सहकारी र गरिमा विकास बैंकको गरी झन्डै ३५ करोड ऋणसमेत लिएको देखिएको छ।

मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बढुा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्।

पक्राउ परेका उनीहरूले जिल्ला अदालत बाग्लुङले पुर्पक्षका लागि हिरासतमा राख्न साउन ५ गते आदेश दिएको थियो।

संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई समेत प्रहरीले बिहीबार ललितपुरबाट पक्राउ गरेको छ।

 

 

Tags: