post-slider post-slider

वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिँदैन: स्वास्थ्य मन्त्री बस्नेत 

Image
A A

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताए। 

देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको बताए। 

आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआईपीसम्मका विरामीले महसुस गर्ने गरि काम गरेको दावी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको दावी गरे । वीर अस्पतालका ७०० शैया विपन्नको लागि निशुल्क गरेको, आकस्मिक कक्षमा शैया संख्या बढाएको, ओपिडी सेवा विहान ८ बजेदेखि बनाएको, अनलाइनबाट पनि टिकट काट्ने व्यवस्था लागु गरेको, भीआईपी र भिभीआईपी कक्ष दुईवाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको महसुस हुने गरि काम भएको बताए । 

वीर अस्पताल सुधार्न यहाँको सिंगो टीमको अहं भूमिका रहेको मन्त्री बस्नेतले बताए । उनले भने, ‘ वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन् । उहाँहरुको संयुक्त पहलबाट वीरमा सुधार संभव भएको छ ।’ वीर अस्पताल गरिव, विपन्न मात्र नभएर भिआईपीहरुको उपचारको पनि केन्द्र हुनु पर्ने सरकारको योजना अनुसार काम अगाडि बढीरहेको मन्त्री बस्नेतले जानकारी दिए । 

कार्यक्रममा चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा डा भुपेन्द्र बस्नेतले न्याम्स ले दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ अगाडि बढाइरहेको बताउदै निकट भविश्यमै आईसीयूको संख्या बढाएर सञ्चालन गर्न लागिएको बताए । 

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले १५ शैयाबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शैया सञ्चालन हुन थाले पनि सो अनुसार बजेट वृद्वि नभएको दुखेसो पोखे । 

उनले ३८६ शैयाको अस्पताल हुदा २ अर्ब भन्दा बढी बजेट विनियोजन हुने गरेको तथ्यांक प्रस्तुत गर्दै यो वर्ष ७३ करोड मात्र बजेट विनियोजन भएको बताए । गएको वर्ष ओपिडी, इमरजेन्सी गरेर ५ लाख ६६ हजार जना विरामीले सेवा पाएको बताउदै वीरमा सेवा थपिँदै गएको अवस्थामा विरामीको संख्या अर्को वर्ष अझ थपिने दावी पौडेलले गरे । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको अनुहार भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने बताइन्। 

Tags: