post-slider post-slider

शेखर–गगन सम्बन्धमा ‘दरार’

Image
A A

काठमाडौं- कोसी प्रदेसमा नयाँ सरकार गठनका लागि पहलकदमी भइरहँदा नेपाली कांग्रेसका नेता शेखर कोइराला सक्रिय भइसकेका थिए।

फेरि कांग्रेसकै नेतृत्वमा कोसीको सरकार बनाउन नेता कोइराला कहिले पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बराही त कहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फकाउन बालुवाटार चहारिरहेका थिए।

कोइरालाको अडान थियो–गठबन्धनको भागबन्डामा परेको कोसीमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउने।

उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले दुईपटक अवैधानिक ठहर गरिदिएपछि भावी मुख्यमन्त्रीका लागि कांग्रेसका केदार कार्की, हिमाल कार्की, अमृत अर्याल र भीम पराजुलीको दाबी थियो।

त्यसअघि नेता कृष्णप्रसाद सिटौलानिकट थापा मुख्यमन्त्री बने पनि योपालि उनको सम्भावना लगभग टरिसकेको थियो।

आफ्नो ‘टिम’ बाट मुख्यमन्त्री बन्ने सम्भावना नदेखेपछि सभापति देउवाले गठबन्धनको बैठकमा कोसी सरकारको नेतृत्व माओवादी केन्द्रलाई सुम्पिदिए।

माओवादी केन्द्रले प्रदेसको मुख्यमन्त्रीका लागि प्रदेस संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सा¥यो।

अनि सुरू भयो कोइरालाको ‘कोसी–विद्रोह’। उनले एमालेको समर्थन लिएर कार्कीलाई प्रदेसको मुख्यमन्त्री बनाउने निधोमा पुगे। 

भयो पनि त्यही एमालेको समर्थनमा कांग्रेस नेता कार्की प्रदेसको मुख्यमन्त्री नियुक्त भए। उनले विश्वासको मत लिँदा एमालेका साथै गठबन्धनका सबै घटक दलहरूले विश्वासको मत दिएका छन्।

तर यी सबै राजनीतिक घटनाक्रममा कोइराल खेमाबाटै पार्टीको महामन्त्रीमा निर्वाचित गगन थापा कहिँकतै देखिएनन्।

‘कोसी–विद्रोह’ ले शेखर–गगनबीच दूरी बढेको धेरैले आकलन गरे।

हुनत कोसी सरकार गठनअघि नै दुई नेताबीचको भेटघाट र संवाद पात्लिएको थियो। पार्टीका आन्तरिक गतिविधिका साथै राष्ट्रिय राजनीतिका विषयमा शेखर–गगन संवाद लगभग बन्द भइसकेको थियो।

कोइरालानिकट एक नेताका अनुसार कोसी प्रकरण अगाडि आउनुअघि दुवै नेताबीच संवाद भएको थिएन।

‘महामन्त्रीहरू शेखरजीको सम्पर्कमै हुनुहुन्न, एक महिनादेखि भेटघाटसमेत भएको छैन। कोसी सरकारका विषयमा छलफल नै गर्नुभएन वा गर्न चाहनुभएन,’ कोइरालानिकट ती नेताले भने।

कोसीमा भइरहेको उथलपुथलअघिबाटै शेखर–गगनको संवादमा एक हिसाबले लागेको ‘बे्रक’ ले पनि दुवै नेताबीच ‘खटपट’ को संकेत गरिसकेको थियो।

संस्थापनलाई एकजुट भएर घेराबन्दीमा पारिरहने इतरसमूहभित्र यतिबेला कोइरालाको ‘कोसी–विद्रोह’ अन्तरविरोध पैदा गरिदिएको छ। यहाँसम्म कि त्यो अन्तरविरोध अहिले सार्वजनिक मञ्चमै पोखिन थालेको छ।

कोसीमा सरकार गठनका प्रक्रिया अगाडि बढिरहँदा महामन्त्रीहरू सम्पर्कमै नआएको आरोप कोइरालानिकटहरूले लगाइरहँदा यो विषयमा आफूहरूसँग कुनै सल्लाह नै नभएको महामन्त्री थापाको गुनसो छ।

मुख्यमन्त्री कार्कीले एमाले र गठबन्धनको समर्थनमा विश्वासको मत लिएको भोलिपल्ट एक सार्वजनिक कार्यक्रममा थापाले कोइरालासँगको तिक्ततापूर्ण सम्बन्धबारे मुख खोले।

कोसी प्रकरणलाई लिएर नेता कोइरालासँग अन्तरविरोध र दूरी बढ्नसक्ने थापाको संकेत थियो।

कोसी प्रकरणबाट उत्पन्न परिस्थितिको जिम्मेवार आफू नहुने भन्दै उनले कोइरालाको भूमिका र उत्पन्न परिस्थितिमा आफू सहमत नभएको प्रष्ट पारे।

कोइरालानिकट नेताले भनेझैं दुई नेताबीच भेटघाट भएको महिनौं बितिसकेको थापाले पनि सकारे।

प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले महिनौंदेखि नेता कोइरालासँग भेट नभएको र कोसी प्रकरणमा दुई जनाबीच कुनै संवाद नभएको बताए।

त्यतिमात्र होइन उनले बागमती प्रदेसमा पनि सरकार परिवर्तनका लागि केही सांसदबाट आफूलाई प्रस्ताव आएको र गठबन्धन भत्काउने अभ्यास भइरहेको खुलासा गरे।

महामन्त्री थापाले सभापति देउवासँगै नेता कोइरालाको आलोचना गरेका थिए।

‘सभापतिसँग मैले हात जोडेर भनेको छु–सबै निर्णय एक्लै गर्ने, अँध्यारोमा गर्ने अनि फोहोर सफा गर्ने बेलामा नबोलाउनुहोला। आफूले गरेको फोहोर आफैं सफा गर्नुहोला। वरिष्ठ नेताजीसँग भेटघाट नभएको एक महिना जति भयो। भेटघाट भएको बेला जे भन्नुपर्ला भनौंला,’ थापाले भने,‘बागमती प्रदेसका केही कांग्रेस सांसद मलाई भेट्न आएर माओवादीलाई मुख्यमन्त्री मान्न सकिन्नँ, सरकार फेरौं भन्नुभएको छ। म यो काम गर्दिनँ, सभापति र शेखर कोइरालाई भेट्सनुस भनेको छु।’

१४ औं महाधिवेशनमा इतरसमूहबाट महामन्त्री निर्वाचित भउका थापाले नेता कोइरालाको भूमिकाबारे कुनै सार्वजनिक टिप्पणी गरेका थिएनन्।

तर, महामन्त्री थापा संसदीय दलको निर्वाचनामा पनि आफूसँग धोका भएको गुनासो गरे। उनले भने, ‘आफ्नै समूहबाट अपेक्षित मत पाउन सकिनँ। समूहकै सांसदले दोहोरो भूमिका खेले।’

‘३६ जना सांसद पक्षमा छन्, साथीहरूले विद्रोहको चेतका साथ आँट गर्नुहुन्छ र संख्या बढ्ला भन्ने अपेक्षा थियो। तर, अन्तिममा २५ मतमात्रै आयो। किन घट्यो भन्ने हेर्दा भोट सभापतिलाई हालेर फोटो खिचेर सभापतिलाई देखाउने वा देखाउन लगाउने साथीहरू रहेछन्। अनि ति साथीहरूले नै विद्रोह गर्नुपर्छ भनेर धेरै चकचक गरिरहेको देख्दा मुसुमुसु हाँसेर बसिरहेको छ,’ थापाले भने।

‘कोसी–विद्रोह’ पछि शेखर–गगनबीच बढेको दूरीले इतर समूहभित्र खटपट सुरू भएको प्रष्ट पारेको छ। 

लामो समयदेखि यो समूहमा एजेन्डाबारे छलफल हुनसकेको छैन भने बैठक बसे पनि औपचारिकतामा सीमित छ।

केहीअघिसम्म एकजुट देखिने इतर समूहमा खास गरेर सरकारमा मन्त्री पठाउने समयमै खटपट सुरू भइसकेको थियो।

शेखरले आफ्नो समूहका तर्फबाट एकल निर्णय गरेर सरकारमा मन्त्री पठाउने निर्णय गरेकै बेला शेखर–गगनबीच ‘दरार’ उत्पन्न भइसकेको थियो।

इतर समूहका कतिपय नेताहरूले पनि शेखर–गगनबीच दूरी बढेको स्वीकार गर्छन्। यद्यपि यो दूरीका कारण समूहमा कुनै फरक नपर्ने दाबी उनीहरूको छ।

नेता अर्जुननरसिंह केसी महामन्त्री थापा र नेता कोइरालाबीच दूरी बढेको देखिए पनि इतरसमूहमा कुनै फेरबदल नआउने दाबी गर्छन्।

‘पछिल्लो समय महामन्त्री र शेखरजीबीचको दूरी हामीले पनि महसुस गरेका छौं। कोसीमा नेतृत्वले जबर्जस्ती गर्दा यो आकस्मिक समस्या देखियो। अब जे भयो, त्यसलाई सुधारेर थप बलियो भएर जानुको विकल्प छैन। तिक्ततालाई भुलेर उहाँहरू एकठाउँमा आउनुहुन्छ, हाम्रो प्रयास त्यसमै हुनेछ,’ केसीले भने।

 

 

Tags: