post-slider post-slider

कोभिड खोप बनाउन सघाउने दुई जनालाई नोबेल पुरस्कार

Image
A A

काठमाडौं- यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिक क्याटालिन क्यारिको र ड्रिउ वेइजम्यानलाई प्रदान गरिने भएको छ।

आरएनए वा डीएनएमा हुने न्युक्लिओसाइडको परिवर्तन सम्बन्धमा उनीहरूले गरेको अनुसन्धानले कोभिड-१९ विरुद्धको एमआरएनए खोपको विकास सम्भव भएकाले पुरस्कृत गरिएको ‘नोबेल एसेम्बली एट क्यारोलिन्स्का इन्स्टिच्युट’ले जनाएको छ।

‘उनीहरूले गरेको अभूतपूर्व खोजका कारण हाम्रो प्रतिरक्षा प्रणालीसँग एमआरएनएले कसरी अन्तरक्रिया गर्छ भन्ने बुझाइमा आधारभूत परिवर्तन आयो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो खोजकै कारण आधुनिक समयमा मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो खतरा उत्पन्न भइरहेको क्षणमा निकै द्रुत गतिमा खोप विकास गर्न सम्भव भयो।’

सन् १९५५ मा हंगेरीमा जन्मेकी क्याटालिन क्यारिकोले सन् १९८२ मा विद्यावारिधि गरेकी थिइन्। सन् १९८५ सम्म हंगेरिन एकेडेमी अफ् साइन्सेसमा पोस्टडक्टरल अनुसन्धान गरेकी उनी त्यसपछि भने अमेरिकाको फिलाडेल्फियाको ‘टेम्पल विश्वविद्यालय’मा अनुसन्धानकै लागि गइन्।

सन् १९८९ मा ‘पेन्सिलभेनिया विश्वविद्यालय’मा सह-प्राध्यापकमा नियुक्त उनले सन् २०१३ सम्म काम गरिन्। त्यसपछि उनी ‘बायोनटेक आरएनए फार्माक्युटिकल्स’मा शुरूमा उपाध्यक्ष र पछि वरिष्ठ उपाध्यक्ष भइन्। सन् २०२१ देखि उनी हंगेरीकै ‘स्जिड विश्वविद्यालय’मा प्राध्यापक र ‘पेन्सिलभेनिया विश्वविद्यालयको पेरेलम्यान स्कूल अफ् मेडिसिन’मा ‘एडजंक्ट प्राध्यापक’का रुपमा कार्यरत छिन्।

अमेरिकामा सन् १९५९ मा जन्मेका ड्रिउ वेइजम्यानले सन् १९८७ मा बोस्टन विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए। उनले ‘हार्वर्ड विश्वविद्याललयको बेथ इजरेल डेकोन्स मेडिकल सेन्टर’मा क्लिनिकल तालिम लिएका थिए भने ‘नेसनल इन्स्टिच्युट्स अफ् हेल्थ’मा पोस्टडक्टरल अनुसन्धान गरेका थिए।

सन् १९९७ मा वेइजम्यानले ‘पेन्सिलभेनिया विश्वविद्यालयको पेरेलम्यान स्कूल अफ् मेडिसिन’मै अनुसन्धाताहरूको समूह खडा गरे। उनी पेन इन्स्टिच्युट फर आरएनए इन्नोभेसन्सका निर्देशक हुन्।

यो जोडीले स्वर्ण पदकसहित दश लाख अमेरिकी डलरको चेक पाउनेछ।

Tags: