post-slider post-slider

कामकाज छाडेर जिल्ला अदालत ललितपुरका कर्मचारीहरू सर्वोच्चमा

Image
A A

काठमाडौं- ललितपुर जिल्ला अदालतका कर्मचारीहरू कामकाज ठप्प पारेर सर्वोच्च अदालत पुगेका छन्।

कानुन व्यवसायीबाट आफूहरूलाई खतरा भएको भन्दै ललितपुर जिल्ला अदालतका कर्मचारीहरू कार्यालय छाडेर सर्वोच्च पुगेका हुन्।

कानुन व्यवसायीबाट आफूहरूलाई धम्की आएको र कार्यस्थलमा बसेर कामकाज गर्न सक्ने अवस्था नभएको उनीहरूको भनाइ छ।

नेपाल बार एसोसिएनको केन्द्रीय समितिको आयोजनामा ललितपुर जिल्ला अदालत बाहिर सोमबार भएको विरोधसभामा कर्मचारीको मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको कर्मचारीहरूले बताएका छन्।

बारले आफ्नो क्षेत्राधिकार र सीमा मिचेर कुनै अमुक कर्मचारीलाई सरूवा गर भन्नु कानुनविपरितको कार्य भएको उनीहरूको भनाइ छ।

नेपाल बार एसोसिएसनले जिल्ला अदालत ललितपुरका श्रेस्तेदार विष्णुप्रसाद पाण्डे र नायबसुब्बा प्रेमिका तामाङलाई उपत्यका बाहिर सरूवा गर्न माग गरेको छ।

सर्वोच्च प्रशासनले कर्मचारीहरूलाई काममा फर्किन आग्रह गरेको छ।

कर्मचारीहरूले भने सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने चेतावनी दिएका छन्।

जिल्ला अदालतकी नायबसुब्बा पे्रमिका तामाङमाथि हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेपछि नेपाल बार एसोसिएसनको अगुवाइमा देशभरका कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

त्यही क्रममा सोमबार कानुन व्यवसायीहरूले ललितपुर जिल्ला अदालत अगाडि विरोधसभा गरेका थिए।

अधिवक्ता लामिछाने जिल्ला प्रशासन कार्यालयबाट साधारण तारेखमा रिहा भए पनि मुद्दा विचाराधीन अवस्थामा रहेको भन्दै नेपाल बारले मुद्दा फिर्ता लिन माग गरेको छ।

आदेशको नक्कल लिन गएको बेला नायब सुब्बा तामाङले ‘घुस’ मागेको र त्यसको प्रतिवाद गरेपछि उल्टै अधिवक्ता लामिछानेमाथि हातपात भएको नेपाल बार एसोसिएनले दाबी गरेको छ।

 

Tags: