post-slider post-slider

एर्लिङ हालान्डलाई पछि पार्दै लियोनल मेस्सीले जिते आठौं पटक पुरुष बालोन डी’ओर

Image
A A

काठमाडौं- अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौंपटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन्।

गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई उपाधि जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित समारोहमा ३६ वर्षीय मेस्सीलाई सम्मान गरिएको थियो।

त्यस्तै इंग्ल्यान्ड र रियल मड्रिडका मिडफिल्डर जुडे बेलिङ्घमले २१ वर्ष मुनिको विश्वकै उत्कृष्ट खेलाडीको कोपा ट्रफी जितेका छन्।

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी आठौंपटक बालोन डी’ओर अवार्ड जितेका हुन्।

विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ को हारमा ह्याट्रिक गर्ने दोस्रो व्यक्ति बनेका फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।

अवार्ड समरोहमा मेस्सीले भने, ‘विश्वकप जित्ने सपना पूरा गर्न सक्षम भएकोमा र यस क्षणको मजा लिन यहाँ आउन पाउँदा खुसी लागेको छ।’

पूर्व बार्सिलोना र पेरिस सेन्टजर्मेन स्टारले थपे, ‘मेरो क्यारियर र मैले हासिल गरेको सबै कुरा अनि इतिहासको उत्कृष्ट टोलीको हिस्सा हुने भाग्य मैले कल्पना गर्न सक्दिन। ती सबै बलोन डीओर अवार्डहरु  विभिन्न कारणले विशेष हुन्छन।’  

नर्वेका  हालान्डले ३५ लिग खेलहरूमा कीर्तिमानी ३६ गोल र सबै प्रतियोगिताहरूमा ५२ गोल गरेपछि सिटीले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो।

उनलाई उत्कृष्ट गोलकर्ताको लागि गर्ड मुलर ट्रफी  दिइएको थियो।

‘म म्यानचेस्टर सिटी, सम्पूर्ण क्लब मेरो परिवार र मेरो वरपरका सबै मानिसहरूलाई धन्यवाद दिन चाहन्छु,’ हालान्डले भने।
मेस्सी अरुभन्दा अगाडि 

बालोन डी’ ओरले वर्षको उत्कृष्ट फुटबलरलाई मान्यता दिन्छ र विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका हुन्छन्। 

अर्जेन्टिनालाई विश्वकप जिताउन मद्दत गर्नुका साथै इन्टर मियामीले आफ्नो पहिलो ट्रफी  (लिग कप) जित्दा मेसीले पनि महत्वपूर्ण भूमिका खेलेका थिए। र, मेजर लिग सकर पक्षका लागि १४ खेलमा ११ गोल गरेका थिए।

उनले अब क्रिस्टियानो रोनाल्डोलेभन्दा तीनवटा बढी बालोन डी’ ओर अवार्ड जितेका छन्।

साउदी अरेबियामा अल नासरबाट खेल्ने पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी रोनाल्डो सन २००३ पछि पहिलोपटक सर्टलिस्टमा परेका थिएनन्।

मार्टिनेज विश्वकै उत्कृष्ट गोलकिपर

अर्जेन्टिनाको विश्वकप विजेता तथा एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले विश्वकै उत्कृष्ट गोलकिपरको यासिन ट्रफी जितेका छन्।

फाइनलमा फ्रान्सविरुद्धको पेनाल्टी सुटआउटमा किंग्सले कोमानको स्पट किक बचाएर मार्टिनेजले कतारमा गोल्डेन ग्लोभ जितेका थिए।

उनले एस्टन भिल्लालाई प्रिमियर लिगमा सातौं स्थान बनाउन र युरोपा कन्फरेन्स लिगमा स्थान सुरक्षित गर्न पनि मद्दत गरेका थिए।  

यद्यपि, पेरिस समारोहमा केही भीडले मार्टिनेजलाई जिस्काएको थियो। गत वर्ष फ्रान्सविरुद्धको विश्वकप जितेपछिे उनले मनाएको  उत्सवलाई लिएर आलोचना भएको थियो।

म्यानचेस्टर सिटीलाई क्लब अफ इयरको उपाधि 

म्यानचेस्टर सिटी लगातार दोस्रो वर्ष उत्कृष्ट क्लब घोषित भएको छ।

पेप गार्डियोलाको टोली गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको ट्रेबल जित्ने दोस्रो इंग्लिस टोली बनेको थियो।

सिटीबाट पुरुष बालोन डी’ओर अवार्डका लागि सात खेलाडी छनोट भएका थिए।

नस्लवाद विरुद्ध लडेका विनिसियस जूनियरलाई सोक्रेटिस अवार्ड 

रियल म्याड्रिडका विंगर भिनिसियस जुनियरले मैदानबाहिर आफ्नो योगदानको लागि सोक्रेटिस अवार्ड प्राप्त गरे र विश्व फुटबलमा नस्लवाद विरुद्ध बोलिरहने वाचा गरे।

विनिसियस विगत दुई सिजनदेखि ला लिगा खेलहरूमा नियमित रूपमा जातीय दुव्र्यवहारको निशाना बन्दै आएका छन्।

उनलाई गरिब क्षेत्रमा विद्यालय निर्माण र ब्राजिलमा शिक्षामा लगानी गर्ने फाउन्डेसन सुरु गरे बापत सम्मानित गरिएको थियो। 

‘म नस्लवाद विरुद्धको लडाईमा बलियो रहनेछु,’ ब्राजिलियनले भने,‘आजकाल नस्लवादको बारेमा कुरा गर्नु धेरै दुखको कुरा हो, तर हामीले लडार्इं जारी राख्नुपर्छ ताकि मानिसहरूलाई कम पीडा होस्।’

बेकहमले दिए सर बबी चार्लटनलाई श्रद्धाञ्जली 

पूर्वइंग्ल्यान्ड र म्यानचेस्टर युनाइटेड मिडफिल्डर डेभिड बेकह्यामले मेस्सीलाई पुरुष बालोन डीओर प्रदान गरे, तर विजेता घोषणा गर्नु अघि उनले सर बबी चार्लटनलाई श्रद्धाञ्जली दिएका थिए।

इंग्ल्यान्डले विश्वकप जित्दाका सदस्य चार्लटनको यसै महिनाको सुरुमा ८६ वर्षको उमेरमा निधन भएको थियो।

बेकह्यामले भने, ‘सर बबी फुटबलको संसारमा कति विशेष थिए भन्ने कुरा मैले यो कोठालाई बताइरहनुपर्ने छैन। यदि सर बबीले म्यानचेस्टर युनाइटेडलाई फर्केर यो युवालाई हेर नभनेको भए सायद म म्यानचेस्टर युनाइटेडबाट खेल्ने थिइनँ। म यसका लागी उनि प्रति ऋणी छु।’

बालोन डी’ ओर शीर्ष १०

१. लियोनेल मेस्सी (अर्जेन्टिना र  पीएसजी / इन्टर मियामी)

२. एर्लिङ हालान्ड (नर्वे र म्यानचेस्टर सिटी)

३. केलियन एमबाप्पे (फ्रान्स र पीएसजी)

४. केभिन डी ब्रुइनी (बेल्जियम र म्यानचेस्टर सिटी)

५. रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)

६. भिनिसियस जुनियर (ब्राजिल र रियल म्याड्रिड)

७. जुलियन अल्भारेज (अर्जेन्टिना र म्यानचेस्टर सिटी)

८. भिक्टर ओसिमहेन (नाइजेरिया र नेपोली)

९. बर्नाडो सिल्भा (पोर्चुगल र म्यानचेस्टर सिटी)

१०. लुका मोड्रिच (क्रोएसिया र रियल म्याड्रिड)

 

Tags: