प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित विमानबाट नयाँदिल्ली गएका हुन्।
टोालीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरण महत र उद्योगमन्त्री रमेश रिजाल छन्।
प्रधानमन्त्री नेतृत्वको टोलीको २० जेठमा स्वदेश फर्किने कार्यक्रम छ।
प्रचण्डसहितको टोली करिब ३ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
प्रचण्डसहितका अतिथिहरूलाई भारत सरकारले होटल मौर्यमै बस्ने व्यवस्था मिलाएको छ।
आज साँझ ६ बजेट होटलमै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
डोभालले प्रधानमन्त्री प्रचण्डसँग करिब आधा घण्टा छलफल गर्ने समय निर्धारण गरिएको छ।
बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुग्नेछन्। त्यहाँ पुष्पहार अर्पण गरेपछि हैदराबाद हाउस फर्किनेछन्।
हैदराबाद हाउसमा बिहान ११ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ। दुवै प्रधानमन्त्रीको भेटवार्ताका लागि आधा घण्टाको समय छुट्याइएको छ।
त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन्। प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।
त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।
बिहीबार नै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन्।
उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ।
त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र भारतीय उद्योग परिसंघ (सिआइआइ) ले संयुक्तरूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।
यसैगरी भारतका लागि भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ।
भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेसको उज्जैन र इन्दोर भ्रमणमा जानेछन्।
चौथो दिन शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रचण्ड नयाँदिल्ली फर्किने छन्।
त्यही दिन उनको नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ।