post-slider post-slider

बालकुमारी घटना सामान्य होइन, गम्भीर हो : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्ता गठबन्धन पूरा समय चल्ने र यही गठबन्धनबाट जनतालाई समृद्धि दिने बताएका छन्।

नेपाली कांग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले सरकारलाई राम्रो र प्रभावकारी कामका लागि सहयोग गर्न गठबन्धन दलसँग आग्रह गरे।

एक वर्षको अवधिमा केही राम्रा काम भएको बताउँदै उनले यसको  स्वामित्व लिन गठबन्धन दलहरू हिच्किन नहुने जिकिर गरे।

आफू सिंहदरबार केन्द्रित हुँदै कर्मचारीलाई निर्देशन दिएर कामको जिम्मेवारी दिएको उनले बताए।

यो सरकारले जनतालाई दुःख परेको बेला तत्काल काम गरेको प्रचण्डले दाबी गरे।

प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना सामान्य होइन गम्भीर रहेको बताए।

‘थिंङ्स आर नट सेम एज दे सिम जस्तो होइन, केही न केही गम्भीर छ। लोकतन्त्रविरूद्धको डिजाइनजस्तो लागेको छ। यो मेरो अनुमान हो, गम्भीरकताका साथ लिएरै छानबिन आयोग बनाइएको हो,’ प्रचण्डले भने।

कांग्रेसलाई बाहिर राखेर लोकतान्त्रिक र शान्ति प्रक्रिया पूरा नहुनेमा आफ्नो धारणा रहेको प्रचण्डले बताए।

लोकतान्त्रिक गणतन्त्रात्मिक व्यवस्था उत्तम व्यवस्था रहेको बताउँदै उनले यसको विरोध गर्नेहरू तानाशाही प्रवृत्तिको रहेको उल्लेख गरे।

उत्तम व्यवस्था भएता पनि जनताको पक्षमा राम्ररी काम गर्न नसक्दा गणतन्त्रविरोधी भाष्य तयार पार्ने जमर्को भइरहेको उनले उल्लेख गरे।

प्रचण्डले जनताको पक्षमा काम गर्नेगरी नयाँ संकल्प र नयाँ प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए।

संकल्प र अठोटका साथ अगाडि बढे देशलाई बनाउन सकिने उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूको सहमतिकै आधारमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याइने उल्लेख गरे।

प्रचण्डले आफूहरू बिपीको स्कुलिङबाट प्रशिक्षित विद्यार्थी रहेको भन्नमा कुनै दुईमत नरहेको बताए।

 

Tags: