post-slider post-slider

पाँच दिन तातो हावा यथावत

Image
A A

काठमाडौं- देशको तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्नसक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसतो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।

‘हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुन आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ। तसर्थ, देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ,’ बुलेटिनमा उल्लेख छ।

साथै पहाडाी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरूपमा बढ्नसक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ।

महाशाखाको मौसमविद गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताएका छन्।

‘विगत दुई दिनदेखि तराईका अधिकांश भू–भागमा लू चलिरहेको छ। समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेर तातो हावा तथा लू चलेको छ। नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी छ जसले गर्मी बढेको छ,’ उनले भने।

लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद झाको भनाइ छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव छ। 

देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोसी प्रदेसलगायत गण्डकी तथा कर्णाली प्रदेसका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

विगत दुई सातादेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रम क्रमिक वृद्धि भइरहेको छ।

तराई भू–भागमा मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ।

तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तै थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माँसपेसी दुख्ने, बान्ता आदि हुनसक्ने भएकाले सोबाट बच्न आग्रह गरिएको छ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमति पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ।

 

Tags: