post-slider post-slider

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं- बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

मधेस प्रदेस सरकारको अनुदानबाट सञ्चालित योजनामा अनियमितता गरेको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो।

मधेस प्रदेस सरकारको अनुदानबाट सञ्चालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका–८, कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता भएको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान गरी आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखा अधिकृत सर्मेन्द्र चौधरीले प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको आयोगले ठहर गरेको छ।

उनीहरूले निर्माण कार्यमा भए गरेको परिणामभन्दा ६ लाख ५८ हजार ४४० रूपैयाँ बढी भुक्तानी दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।

उनीहरूमाथि ६ लाख ५८ हजार ४४० रूपैयाँ बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुल उपरको माग दाबी गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामकान्त प्रसाद र कोषाध्यक्ष किरण देवी यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी भुक्तानीका लागि स्वीकृत भएको भन्दा बढी तथा निर्माण कार्यमा भए गरेको परिणामभन्दा बढी भुक्तानी लिएको भन्दै आयोगले उनीहरू तीन जनाविरूद्ध पनि मुद्दा दायर गरेको छ।

काम गरेकोभन्दा बढी भुक्तानी लिएको रकम ६ लाख ५८ हजार ४४० रूपैयाँ बिगो कायम गरी उनीहरूलाई बिगो जफतसहितको सजाय मागदाबी गरिएको छ।

 

Tags: