post-slider post-slider

भारतमा लोकसभा बैठक चलिरहेकैबेला दर्शकदीर्घाबाट युवक हाम्फालेपछि...

Image
A A

काठमाडौं - भारतमा लोकसभाको बैठक चलिरहेकै बेला दर्शकदीर्घाको लबीबाट सांसदहरूको आसनमा हाम्फालेपछि सुरक्षा व्यवस्थाबारे प्रश्न उठाइएको छ।

सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले यो घटनालाई सुरक्षामा ठूलो लापारबाही भएको बताएका छन्।

बुधबार लोकसभा बैठकमा संसदको कारबाही चलिरहेकै बेला दर्शदीर्घाको लबीबाट दुई युवक तल हाम्फालेका थिए।

दुवै जना सांसदहरू बसेको एक बेन्चबाट अर्को बेन्चमा कुद्न थाले। यसैबीचमा एक युवकले जुत्ताबाट पहेँलो रङ्गको ग्यास निकालेर सभा हलभित्रै स्प्रे गरिदिए।

त्यहाँ उपस्थित सांसदहरूका अनुसार दुवैको हातमा टियर ग्यास छर्कने केही उपकरण थियो।

दर्शकदीर्घाको लबीबाट तल हाम्फालेका दुवै जनालाई सांसदहरूले नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइदिएका छन्।

सदनभित्रै युवकहरू हाम्फालेर एक बेन्चबाट अर्को बेन्चमा कुद्न थालेपछि कतिपय सांसदहरू कुदेर बैठक हलबाट बाहिरिएका थिए।

पक्राउ परेका युवकहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय संसदमाथि २२ वर्षअघि आजकै दिन आतंकवादी हमला भएको थियो। लोकसभा बैठक चलिरहेकै बेला सन् २००१ डिसेम्बर १३ तारेखमा संसदमाथि आतंकवादीहरूले आक्रमण गरेका थिए।

 

Tags: