post-slider post-slider

कानुन व्यवसायीले आज बन्दी प्रत्यक्षीकरबाहेकका मुद्दामा बहस नगर्ने

Image
A A

काठमाडौं- नेपाल बार एसोसिएसनले सोमबार देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने कार्यक्रम यथावत राखेको छ।

जिल्ला अदालत ललितपुरकी नायबसुब्बा प्रमिका तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने रिहा भए पनि आन्दोलनको कार्यक्रम यथावत रहेको नेपाल बार एसोसिएसनले जनाएको छ।

आन्दोलनको कार्यक्रम यथावत रहेको जनाउँदै नेपाल बारले उपत्यका बाहिरका बार एकाइहरूलाई पूर्वनिर्धारित कार्यक्रमअनुसार न्यायपालिकामा रहेको विकृति, विसंगति, भ्रष्टाचारको भण्डाफोरका निम्ति कोणसभा गर्न निर्देशन दिएको छ।

असार १३ गते जिल्ला अदालत ललितपुरका नासु तामाङमाथि अधिवक्ता लामिछानेले हातपात गरेको भन्दै आइतबार देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरूप तीन घन्टा पेनडाउन गरेका थिए।

नेपाल बार एसोसिएसनले आदेशको नक्कल लिन जाँदा नासु तामाङले ‘घुस’ मागेको र त्यसको प्रतिवाद गर्दा उल्टै अधिवक्ता लामिछानेमाथि आक्रमण भएको दाबी गरेको छ।

कानुन व्यवसायीहरूले घटना भएको दिनको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेको छ। 

तर, जिल्ला अदालत ललितपुरले भने सिसिटिभी क्यामेरा बिग्रिएकोले फुटेज उपलब्ध गराउन नसकिने जनाएको छ।

नासु तामाङको जाहेरीपछि पक्राउ परेका अधिवक्ता लामिछानेको रिहाइको माग गर्दै आइतबार कानुन व्यवसायीहरूले जिल्ला अदालत ललितपुरअघि प्रदर्शन गरेका थिए।

लामिछानेको रिहाइको माग गर्दै सोमबार बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बसह पैरवी नगर्ने र विरोधसभा गर्ने कार्यक्रम नेपाल बारले सार्वजनिक गरेको थियो।

यो विवाद बार र बेञ्ज तहसम्म पुगेपछि प्रशासनले अधिवक्ता लामिछानेलाई आइतबार साँझ साधारण तारेखमा रिहा गरेको थियो।

लामिछाने रिहा भए पनि पूर्वघोषित विरोधका कार्यक्रम यथावत रहने नेपाल बारले जनाएको छ।

 

Tags: