post-slider post-slider

युद्धविराम सकिएपछि गाजामा इजरायलबाट ‘ठूला हमला’

Image
A A

काठमाडौं- इजरायलको सेनाले एकसाता लामो अस्थायी युद्धविरामको अन्त्य भएयता गाजा स्ट्रिपका चार सयभन्दा बढी ठाउँमा हमला गरेको जनाएको छ।

पछिल्लो इजरायली सैन्य कारबाही गाजा क्षेत्रको दक्षिणमा केन्द्रित देखिएको छ।

खान युनिसमा गरिएका व्यापक हवाइ आक्रमणलाई स्थानीयवासीहरूले अक्टुबर ७ मा युद्ध सुरू भएयताकै ‘ठूलो हमला’ बताएका छन्।

आइतबार बिहानै रफाह नजिकै इजरायली हमलामा परेर सात जना प्यालिस्टिनीहरू मारिएका छन्।

खान युनिस र रफाह दुवै गाजाको इजिप्टतर्फको सीमा नजिकैका सहरहरू हुन्।

सहरको पूर्वी क्षेत्रका मानिसहरूलाई इजरायली सैनिकले थप दक्षिणतर्फ जान भनिरहेका छन्।

राष्ट्रसंघीय अधिकारी र गाजाका मानिसहरूले इन्टरनेटको सीमित उपलब्धता र विद्युत अभावका कारण भनिए जसरी बसिरहेका ठाउँ छाड्न कठिन हुने बताएका छन्।

इजरायल हमासका केही नेताहरू गाजामै रहेको र उत्तरी क्षेत्र छाडेर उनीहरू धेरै सर्वसाधारणहरू भएकै ठाउँमा बसिरहेको विश्वास गर्छ।

इजरायली सेनाले गत रातभर हमासका सुरूङ र कमान्ड केन्द्रहरूमा हमला गरेको जनाएको छ।

संघर्षविरामा सकिएयता कम्तीमा २४० जना मानिसहरू मारिएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

इजरायलले लडाइँका बेला शनिबार आफ्ना एक जना सैनिक मारिएको र गत महिना घाइते भएका अर्का एक जनाको समेत मृत्यु भएको जनाएको छ।

यसैबीच ब्रिटेनको रक्षा मन्त्रालयले गाजा र इजरायलमाथि एक निःशस्त्र निरीक्षण उडान गर्न लागिएको जनाएको छ।

उसले हमासले बन्धकहरू राखेको हुनसक्ने ठाउँको खोजी प्रयासमा त्यसो गर्न लागिएको जनाएको छ।

हमासले दक्षिणी इजरायलमा ७ अक्टुबरमा गरेको घातक हमलायता पाँच जना ब्रिटिस नागरिकहरू अझै हराइरहेका छन्।

अक्टुबर ७ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्ध बन्धक बनाइएको थियो।

तीमध्ये १४० जना अझै बन्धक अवस्थामा छन् जो अधिकांश पुरुष र सैनिकहरू रहेको बताइन्छ।

त्यसयता इजरायलले गरेको हमलामा १५ हजार २ सयभन्दा बढी मानिस मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संघर्षविरामको अन्त्यसँगै गाजाबाट समेत निरन्तर इजरायलतर्फ रकेट प्रहार भइरहेका छन्।

शनिबार साँझ गरिएका प्रहार तेल अभिभ र मध्य इजरायल आसपासका क्षेत्रमा लक्षित थिए।

 

Tags: