post-slider post-slider

१० वटा जहाज खरिद गर्दै सरकार

Image
A A

काठमाडौं- सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि १० वटा जहाज खरिद गर्ने तयारी गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजवाहक १० वटासम्म जहाज खरिद गरिने बताएका हुन्।

आइतबार नेपाल विद्यार्थी संघ (नेविसंघ) को ज्ञापनपत्र बुझ्दै उनले भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्न निगमको जहाज थप्नुको विकल्प नरहेको बताए।

दसैंअघि नै औपचारिकरूमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन १० वटासम्म जहाज थप्नुपर्ने आवश्यक्ता भएको बताए।

निगमले आन्तरिक उडानका लागि तीनवटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी गरेको छ।

ती जहाज निगमको आन्तरिक स्रोतबाटै खरिद गर्नेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ।

निगमसँग आन्तरिक उडानका लागि दुईवटा ट्वीनअटर जहाजमात्रै छन्। ती जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएका छन्।

पर्यटनमन्त्री किरातीले आजैदेखि नेपागञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैंभरि सञ्चालन हुने जानकारी दिए।

चाडबाडका बेला हुने कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल र समन्वय गरिरहेको पनि उनले बताए।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले चाडबाडका बेला भाडादरमा हुने कालोबजारीलाई नियन्त्रण गर्न र सहुलियत भाडादरको व्यवस्था गर्न माग गर्दै पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

‘दसैं, तिहार, छठलगायतका चाडपर्वका बेला आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समेत स्चेच्छाचारी ढंगले हवाइ टिकटको मूल्य निर्धारण गरिएको हुँदा त्यस विषयमा अनुगमन गर्दै सुक्ष्म निगरानीसमेत गर्न पर्यटनमन्त्रीसमक्ष अनुरोध गर्दछौं,’ नेविसंघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ।

 

Tags: