post-slider post-slider

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग गठन प्रक्रिया अगाडि बढिसक्यो : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा संसदको रूलिङका सम्बन्धमा धारणा राख्दै उनले यस्तो बताएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा तस्करी भएको सुनका विषयमा यसअघि दलहरूबीच भएको सहमतिअनुसार उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अगाडि बढेको उनले बताए।

‘अवैध सुन तस्करीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ। सहमतिअनुसार आयोग बनाउने प्रक्रिया अगाडि बढेको छ,’ प्रचण्डले भने।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलालाई सरकारले गम्भीर रूपमा लिएको जनाउँदै आक्रमणकारीलाई प्रचलित कानुनअनुसार काबाही गरिने बताए।

उनले भने,‘यो घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ। यसप्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिबद्ध छ।’

प्रधानमन्त्री प्रचण्डले कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा समयमै उपचार नपाएर बालिकाको मृत्यु भएको घटनामा दोषी देखिएमा कारबाहीको दायरामा ल्याइने बताए।

उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास दिलाए।

१८ भदौमा उपचारका लागि पुगेकी मकवानपुर घर भइ हाल काठमाडौंको बाफल बस्ने पाँच वर्षीया बालिका रेजिसा गोपालीको आकस्मिक कक्षमा समयमै उपचार नपाएर मृत्यु भएको थियो।

घटना सार्वजनिक भएलगत्तै अस्पतालबाट पाँच दिनको समयावधि प्रदान गरी तीन सदस्यीय छानबिन समिति गठन भएको र समितिले प्रतिवेदन बुझाइसकेको प्रचण्डले सदनलाई जानकारी गराए।

 

Tags: