post-slider post-slider

नेपाल वायु सेवा निगमको विमानमा देखिएको समस्या छानबिन गर्न समिति गठन

Image
A A

काठमाडौं- मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन लागेको नेपाल वायु सेवा निगमको जहाज उडान समयभन्दा १० घण्टा डिले भएको विषयमा नेपाल वायु सेवा निगमले छानबिन समिति गठन गरेको छ।

निगमका प्रवक्ता रमेश पौडेलले कलसाइन ९ एन एकेडब्लु न्यारोबडी (ए ३२०) जहाज मङ्गलबार बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा ककपिटमा हुने सिलिन्डरमा अक्सिजनको (क्रु अक्सिजन) प्रेसर कम देखिएपछि के कस्तो कारणले यो समस्या आएको हो सो पत्ता लगाउन छानबिन समिति गठन गरिएको बताए।

जहाज उडाउनुअघि नियमित गरिने चेकजाँचका क्रममा ककपिटमा राखिएको अक्सिजन सिलिन्डरको प्रेसर कम भेटिएपछि भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन दुई सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिले के कति कारणले समस्या भएको हो भन्नेबारे एक सातामा प्रतिवेदन बुझाउने छ। 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयका निर्देशक महेश मरिताको संयोजकत्वमा छानबिन समिति गठन गरिएको पौडेलले बताए।

स्थानीय समय अनुसार मंगलबार बिहान ५ बजे भैरहवा उड्नुपर्ने उक्त जहाज दिउँसो ३ बजे मात्रै १४६ यात्रु बोकेर भैरहवाका लागि उडान भरेको थियो। सोमबार राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भरिभराउ भएर क्वालालम्पुर पुगेको जहाज एक साता काठमाडौंमै उडान अयोग्य (ग्राउन्डेड) भएर सञ्चालनमा आएको थियो। 

Tags: