post-slider post-slider

राष्ट्रियसभा सदस्य निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना

Image
A A

काठमाडौ-राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतहरूले पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएका छन्।

माघ ११ गते हुने निर्वाचनका लागि नियुक्त भएका निर्वाचन अधिकृतहरूले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागेका हुन्।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सातछ जिल्लाका जिल्ला न्यायाधीशलाई  पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको थियो।

नियुक्त भएका निर्वाचन अधिकृतले सम्बन्धित प्रदेसमा प्रदेस निर्वाचन कार्यालयअन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगले कोसी प्रदेसमा मोरङका दुर्गाप्रसाद ढुङ्गेल, मधेस प्रदेसमा धनुषाका नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्कीका केशवप्रसाद बास्तोला, लुम्बिनीमा दाङका कृपासुर कार्की, कर्णालीमा सुर्खेतका विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याललाई नियुक्त गरेको छ।

राष्ट्रियसभा निर्वाचनका लागि आयोगले पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनित एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ।

कार्यकाल सकिने एक महिनाअघि निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। 

 

Tags: