post-slider post-slider

एसिसी यू–१९ : पहिलो खेलमा पाकिस्तानसँग नेपाल पराजित

Image
A A

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।

शुक्रबार भएको खेलमा नेपाल प्रतिद्वन्द्वी पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा सबै विकेट गुमाएर १५२ रन जोडेको थियो।

१५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर जित हासिल ग¥यो।

पाकिस्तानका लागि अजन अवैस ५६ र साद बेग ५० रन बनाएर नटआउट रहे।

त्यस्तै शाहजैब खान १५, मोहम्मद जीसन २० रन जोड्दा सैमिल हुसैन शून्य रनमा आउट भए।

नेपालका लागि गुल्शन झाले २ र आकाश त्रिपाठीले १ विकेट लिए।

जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। यो समूहमा बलिया टिमहरू भारत, पाकिस्तान र अफगानिस्तान छन्।

समूह ‘बी’ मा आयोजक युएई, जापान, बंगलादेश र श्रीलंका छन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

 नेपालले अब मंसिर २४ मा अफगानिस्तान र मंसिर २६ मा भारतसँग प्रस्पिर्धा गर्नेछ।

मंसिर २९ मा प्रतियोगिताको दुवै सेमिफाइनल र पुस १ गते फाइनल हुने तालिका छ।

समूह चरण पार गर्न नेपाललाई सुरूमै पाकिस्तान र भारतजस्ता बलिया टिमलाई पन्छाउनुपर्ने हुन्छ।

एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने अन्डर–१९ विश्वकप तयारीको रूपमा समेत लिइएको छ।

नेपालले एक महिनाअघि मलेसियामा सम्पन्न एसिसी अन्डर–१९ प्रिमियर कप उपाधि जित्दै एसिया कपमा स्थान सुनिश्चित गरेको थियो।

 

Tags: