post-slider post-slider

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतले शुक्रबार आदेश सुनाउने

Image
A A

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकेको छ।

बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सुनुवाइ सकेको हो।

सुनुवाइ सकिए पनि न्यायाधीशद्वय खरेल र पाण्डेको संयुक्त इजलासले शुक्रबार आदेश सुनाउने बताइएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यक्रमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

उनीहरूले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको भन्दै उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।

विगतमा पटकपटक यो मुद्दा पेसीमा चढे पनि यसअघि यसरी सुनुवाइ हुनसकेको थिएन।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पाँच वर्षयता गरिएको भनिएको ठगी र संगठित अपराधको आशंकामा उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ गतेदेखि आरोपीहरूलाई पक्राउ गरेर छानबिन सुरू गरेको थियो।

जिल्ला अदालतले दिएको आदेशविरूद्ध त्यसलाई बदर गरेर आफूहरूलाई तारिखमा छाडी मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने मागदावी गर्दै उनीहरू साउन १२ गते उच्च अदालत पुगेका थिए।

त्यसयता कम्तीमा आधा दर्जनभन्दा बढीपटक मुद्दाको सुनुवाइ पेसीमा चढे पनि निरन्तर सुनुवाइ हुनसकेको थिएन।

आरोपीहरूविरूद्ध ठगी र किर्तेसम्बन्धी कसुर, संगठित अपराध र राज्यविरूको अपराधजस्ता मुद्दाहरू लागेका छन्।

 

 

Tags: