जिबी-रवि र छविमाथि के-के मुद्दामा भइरहेको छ अनुसन्धान?
काठमाडौं - सहकारी ठगी प्रकरणमा फरार आरोपी गितेन्द्रबाबु राई (जिबी), रवि लामिछाने र छविलाल जोशीविरूद्धको अनुसन्धान एक महिना पूरा भएको छ। अब उनीहरूविरूद्धको अनुसन्धान ६० दिन बाँकी छ।
सम्पत्ति शुद्धीकरण ऐन तथा संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जिबीबाहेक रवि-छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ।
मुख्यतया : अहिले जिबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जिबी, रवि र छवि जोशी छन्।
जिबी नेपालमा ‘डाइरेक्ट सेलिङ’का नाममा गैरकानुनी नेटवर्किङ धन्दा चलाउने नेचर हर्ब्सका मालिक हुन्। त्यो नेचर हर्ब्ससँग जोडिएका व्यक्ति नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी थिए। यसमा पछि मिसिएका त्यतिबेलाका कार्यक्रम प्रस्तोता, हालका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि हुन्। यिनै तीन जनाको व्यापारिक साझेदारी पछि गोर्खा मिडिया नेटवर्कसम्म विस्तार भएको थियो। तीन जनाको साझेदारी विवादास्पद ढंगले सहकारी ठगीमा यसरी जोडियो कि पूर्वगृहमन्त्रीसमेत भइसकेका रवि, पूर्वडिआइजी जोशीले मंसिरको जाडो प्रहरी खोरमा बिताउनु परिरहेको छ।
अनुसन्धान अनुसार जिबीका ‘डाइरेक्ट सेलिङ’जस्तै थुप्रै व्यवसाय छन्, उनी नेपालमा कम मलेसियामा बढी बस्ने व्यक्ति हुन्। अन्य व्यवसायबारे कति छन् गुनासो तथा उजुरी, त्यसलाई छोडेर सहकारी ठगीमा प्रहरीले मुख्य अनुसन्धान केन्द्रित गरेको छ।
पाँच वटा सहकारी, पाँच जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूले गरिरहेका छन्। अनुसन्धानको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) रहेको छ। ब्युरोका अनुसन्धान अधिकृतहरू पाँच वटै जिल्लामा सक्रिय रहेको त्यहाँका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापा बताउँछन्।
‘पाँच वटै जिल्लामा हामीले अनुसन्धान अधिकृतहरू खटाएका छौं, उनीहरूको काम जिल्लाले गरिरहेको अनुसन्धानलाई सपोर्ट गर्ने, थप सूचना र तथ्यहरू केलाउनेलगायत छन्,’ थापाले भने, ‘यसबाहेक संगठित अपराधजन्य कसुरको विस्तृत अनुसन्धान, सम्पत्ति शुद्धीकरणजन्य कसुरको अनुसन्धानमा ब्युरोको टोलीले काम गर्छ।’
अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।
‘यी चार वटा मुद्दा आकर्षित हुने किसिमले हिरासतमा रहेकाहरूलाई हिरासतमा थप राख्न अदालतबाट म्याद थप भइरहेको छ, आरोपितहरूको कसुर जहाँ-जहाँ देखिन्छ, सम्बन्धित ठाउँमा पक्राउ पुर्जी लिएर बयानमा लग्ने व्यवस्था मिलाइएको छ,’ एआइजी थापाले भने।
चार वटा कसुर आकर्षित गरी म्याद थपको व्यवस्थामा प्रहरीले अहिले अदालतको साथ पाइरहेको छ। पहिले मुद्दा दायरपछि मात्रै थुनछेक बहस (सरकारी वकिल र व्यक्तिगत वकिल)ले गर्थे भने अहिले म्याद थपका बखतमा इजलासमै वादी-प्रतिवादी वकिलबीच बहस हुने गरेको छ। ‘इजलासले बकाइदा आदेश दिएर मात्रै अहिले थुनुवाहरूलाई हिरासतमा राख्ने अनुमति पाइरहेका छौं, तथ्य र प्रमाण हेरेर बेञ्चले आदेश दिएपछि यो सम्भव भइरहेको छ, बाहिर प्रतिशोधपूर्ण रूपमा प्रहरीले त्यतिकै थुनिरहेको छ भनी मिथ्या हल्ला फिँजाइएको छ।’
पहिले, सम्पत्ति शुद्धीकरणजन्य कसुरमा अनुसन्धान गर्ने निकाय ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग’ थियो। अहिले फौजदारी मुद्दाको अनुसन्धान जुन निकायले गर्छ उसैलाई सम्पत्ति शुद्धीकरणजन्य कसुरको अनुसन्धान गर्ने अधिकार दिइएको छ। पहिले फौजदारी कसुरको अनुसन्धान पूरा भएपछि प्रहरीले विभागलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि लेखेर पठाउने गरेको थियो। अहिले सिधै उजुरी नपरेको खण्डमा प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागले खासै ‘बिजनेस’ नपाउने भएकाले यसलाई ‘नाम मात्र’को भन्न थालिएको छ।
हालसम्म प्राप्त प्रमाण र अनुसन्धानले पाँच वटा सहकारीको तीन अर्ब बचत हिनामिना भएको देखाएको एआइजी थापाले बताए। सहकारीबाट निकालिएको रकम विभिन्न कम्पनी तथा जग्गा-जमिनमा समेतमा लगानी गरेको भेटिएको छ। त्यस्तो जमिन करिब ७० रोपनी रहेको र त्यसलाई सम्बन्धित ठाउँका मालपोतबाट रोक्का राखिएको थापाले बताए।
‘सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा घर, जग्गा, गाडी बिक्री गर्न नपाउन् भनेर रोकावट गरिएको छ, बैंक खाता रोक्का, थुनुवाहरूले नजिकका आफन्तको नाममा सम्पत्ति राखेको अवस्थासमेत हेरेर हामीले आवश्यक सबै कदम चालेका छौं,’ थापाले भने।
कालिमाटीदेखि पर्सासम्मका पाँच वटा सहकारीको तीन अर्ब अपचलन
प्रहरीका अनुसार अहिले पाँच वटा ‘स’ अगाडि आएका सहकारी संस्थाहरू छन्। ती सबैका सञ्चालक जिबी हुन् र ती सहकारी ठगीमा छवि, रवि पार्टनरको रूपमा जोडिएका छन्। र, ती पाँच वटै सहकारीको कोषाध्यक्षमा कुमार रम्तेल देखिन्छन्। रम्तेल कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी प्रकरणमा एक वर्षअघि नै पुर्पक्षका लागि कारागार चलान भएका छन्।
बाँकी अहिले हिरासतमा रहेका रवि-छविलगायतबाहेक सहकारी संस्था ठगीमा जोडिएका कतिपय व्यक्ति पक्राउ परेका छन्, कतिपय फरार छन्।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ। पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।
‘स्वर्णलक्ष्मी सहकारी ठगीमा जोडिएका छविलाई कास्कीबाट ल्याएर बयान लिइयो, अब रविलाई ल्याइँदैछ,’ परिसरका एक अनुसन्धान अधिकृतले भने।
स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवा: र कमल लामा पक्राउ परेका छन्।
पर्साको सानोपाइला सहकारी संस्था ठगीमा ४३७ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएकोबारे अनुसन्धान चलिरहेको छ। उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा बोलाइएको छैन। उनीहरूलाई बयानमा लैजाने सम्भावना अधिक छ। सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जिबीसहित १२ जना हुन्।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था ठगीमा ४४६ जनाले जाहेरी दिएका छन्। उक्त सहकारी संस्थाको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ ठगी भएको जाहेरीमा १७ जना प्रतिवादी छन्। त्यसमा जिबी, रवि, छवि, रम्तेल नै मुख्य छन्। उनीहरू सबैलाई चितवनमा पक्राउ पूर्जी जारी भएर बयानमा लैजाने तयारी छ।
रुपन्देहीको सुप्रिम सहकारी संस्थाका १८३१ जनाले ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको भनी जिबी, छवि, रविलगायत २७ जनाविरूद्ध जाहेरी दिएका छन्। उक्त सहकारी ठगीको अनुसन्धान सिलसिलामा रवि-छविलाई रुपन्देहीमा बयान लिइसकिएको छ।
कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगीमा १०३९ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ ठगी भएकोमा रवि, छवि, रम्तेलसहित १९ जना पक्राउ परेका छन्। १३ जना फरार छन्। उक्त सहकारी ठगीमा थप २५ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।
यस सहकारी संस्था ठग्दा जिबी राईले सहोदर दिदी-बहिनी (गीता र लीला पछाई)को नाममा सम्पत्ति जोडेको पाइएको छ। बहिनी लीला (हाल कास्कीमा थुनामा)को नाममा जिबीले खुमलटारमा चार आना जग्गामा बनेको घर, कार, पोखरामा पाँच आनामा बनेको घर राखेको पाइएको छ। उक्त सम्पत्ति रोक्का राखिसकिएको छ।
दिदी गीता पछाई (हाल रुपन्देहीमा थुनामा)को नाममा जिबीले रुपन्देहीमा जमिन राखेको पाइएको छ। गीताको नाममा रुपन्देहीमा तीन आना, दुई पैसा,१.५ दाम जग्गा देखिएको छ। उक्त जग्गा मालपोतबाट रोक्का राखिएको छ।
जिबीले सहकारीको बचतबाट ललितपुरको भैंसेपाटीमा २३ रोपनी ७ आना जग्गा खरीद गरेर बिक्री गरेको भेटिएको छ। राईले २०७३ सालमा किनेको उक्त जग्गा २०७९ भदौ १ गते बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी र विवादास्पद नागरिक पवनकुमार साहको संयुक्त लगानीको कम्पनी चेनी क्यापिटललाई १२ करोड ५० बिक्री गरेको खुलेको छ।
चेनी क्यापिटलले १२ करोड ५० लाखमा किनेको २३ रोपनी ७ आना जग्गामध्ये ३ रोपनी जग्गा धितो राखी २०७९ भदौ १५ गते नै हिमालयन बैंक न्यूरोड शाखाबाट १६ करोड ८० लाख ऋण समेत लिएको भेटिएको छ। उक्त जग्गा रोक्का राखिएको छ।