post-slider post-slider

राष्ट्रियसभा सदस्य निर्वाचन : आज मनोनयन दर्ता हुँदै

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ।

निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातवटै प्रदेसको राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता हुने छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै तयारी पूरा भएको र निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र मनोनयन दर्ता हुने जानकारी दिएका छन्।

प्रदेसमा रिक्त हुन लागेको समूहबाट नै मनोनयन दर्ता हुने उनले बताए।

आयोगले जनाएअनुसार कोसी प्रदेसमा १/१ जना महिला र पुरुष समूहतर्फ रिक्त हुन लागेकोमा उम्मेदवारी दिँदा राजनीतिक दलले सोही समूहबाट उम्मेदवारी दिनुपर्नेछ।

प्रदेसगत आधारमा कोसी, मधेस र लुम्बिनीबाट २ / २ जना, बागमतीबाट चार तथा गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट ३/३ सदस्यको निर्वाचन हुनेछ।

समावेशी समूहअन्तर्गत अन्य र महिला समूहबाट ७ / ७, दलितबाट २ तथा अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूदायबाट ३ सदस्य निर्वाचित हुनेछन्।

राष्ट्रियसभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्यका लागि माघ १९ गते मतदान हुनेछ।

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताहरूको अन्तिम नामावली आइतबार प्रकाशित गरेको छ।

प्रकाशित नामावलीअनुसार सातवटै प्रदेसमा प्रदेससभा सदस्यतर्फ कुल ५४९ र स्थानीयतर्फ १ हजार ४९८ मतदाता छन्।

एक जना प्रदेससभा सदस्य र स्थानीय तहका एक÷एक जना अध्यक्ष, उपाध्यक्ष र उपप्रमुखको निधन भएकाले मतदाता नामावलीबाट नाम यसअघि नै हटाइएको थियो।

त्यसैगरी गाउँपालिकाका एक अध्यक्ष र नगरपालिकाका चार प्रमुख निलम्बनमा पर्दा मतदाता नामावलीबाट नाम हटाइएको छ।

मतदता नामावलीबाट प्रदेससभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षगरी ९ जनाको नाम हटाइएको छ।

मतदान गर्न अयोग्य रहेकामा पाँच जना मधेस प्रदेसका छन्। चार जना सप्तरी र एक जना रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख छन्।

आयोगका अनुसार प्रदेससभातर्फको कुल मतभार २९ हजार ९७ र पालिकातर्फको कुल मतभार २८ हजार ४६२ कायम भएको छ।

यसरी राष्ट्रियसभा सदस्यका लागि सातवटै प्रदेसबाट प्रदेससभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरेर ५७ हजार ५५९ मतभार कायम भएका छन्।

राष्ट्रिय जनगणना २०७८ को परिणामबमोजिम प्रदेससभा सदस्यको मतभार ५३ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ।

 

Tags: