post-slider post-slider

‘यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन, ब्रेक–थ्रु गर्नैपर्छ’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपालिको बजेट कनिका छरेजस्तो नभइ अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन्।

उनले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट भिन्न तरिकाबाट आउने बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले पुराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए।

उनले भने,‘विकास भनेको योजनावद्ध हुन्छ, हुनुपर्छ। विना सम्भाव्यता अध्ययन, विना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र बिनियोजित बजेट पनि फ्रिज हुने बिडम्बना छ। त्यसबाट हामी माथि उठ्नैपर्छ। यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन। विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ।’

प्रचण्डले अर्थतन्त्रका संकेतहरू सकारात्मक भए पनि दबाबमुक्त भइ नसकेको जिकिर गरे।

‘अर्थतन्त्रका संकेतहरू सकारात्मक छन्। तर, हाम्रो अर्थतन्त्र दबाबमुक्त भइसकेको छैन। विकास निर्माणका काममा थुप्रै बेथिति छन्, उनले भने,‘यसपटक परम्परागत सोँच र ढाँचाबाट माथि उठौं। सबैलाई खुसी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ। यसपटक ब्रेक–थ्रु गर्नैपर्छ।’

बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक रहे पनि राजश्व संकलनमा अपेक्षित सफलता प्राप्त भइनसकेकाले मितव्ययी भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

 

Tags: