शिक्षकहरूलाई गगनको अपिल : विद्यालय बन्द नगरौं, संसदमा विधेयक सच्याउने छौं
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन्।
शिक्षा विधेयकमा भएका त्रुटि आफूहरूले संसदमा सच्याउने भन्दै उनले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गरेका हुन्।
महामन्त्री थापाले आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ता सम्बोधन गर्ने कुरामा आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।
‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाकको कर्तव्य र जिम्मेवारी हो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं। आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको संबोधन गर्ने कुरामा प्रतिबद्ध छौं।’
उनले सांसदको भूमिका एवं विवकेमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मदत गर्न पनि आन्दोलनरत शिक्षकहरूलाई अपिल गरेका छन्।
‘सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मदत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु,’ थापाले भनेका छन्।