post-slider post-slider

सौराहामा आजदेखि हात्ती महोत्सव

Image
A A

काठमाडौं- चितवनको सौराहामा मंगलबारबाट चितवन हात्ती तथा पर्यटन महोत्सव सुरू हुँदैछ।

क्षेत्रीय होटल संघ चितवनको आयोजनामा महोत्सव हुन लागेको हो।

अर्थमन्त्री प्रकाशशशरण महतले महोत्सवको उदघाटन गर्ने कार्यक्रम रहेको छ।

पर्यटन विकासका लागि भन्दै मंगलबारबाट पुस १४ सम्म मैनाहाचौरमा यो महोत्सव हुन लागेको हो।

चितवन हात्ती महोत्सवलाई केही परिमार्जन गरी १७ औं संस्करण सुरू गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले बताएका छन्।

यस वर्षको पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता रहेको उनको भनाइ छ।

महोत्सवलाई आकर्षक बनाउन स्थानीय व्यवसायीहरूले चित्रसारी पुलदेखि नै सौराहालाई सजाएका छन्।

कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन।

यो वर्षको सुरूवातदेखि विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको संघका अध्यक्ष गिरीले बताएका छन्।

चालु आर्थिक वर्षमा मात्रै सौराहामा स्वदेशी तथा विदेशी गरी २ लाख २५ हजार पर्यटक आएको संघले जानकारी दिएको छ।

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गा दौड प्रतियोगिता हुनेछ। 

त्यस्तै महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरूसँग ‘वी टू’ कार्यक्रम, स्थानीय भेषभुषा तथा कला संस्कृति संरक्षण, कलाकारहरूको सांस्कृतिक कार्यक्रम, स्थानीय कृषि उत्पादनको प्रवद्र्धानत्मक कार्यक्रम गरिनेछ।

 

Tags: